ओलम्पिक छनोट

नेपाली टेबल टेनिस खेलाडीलाई ओलम्पिकमा छनोट हुने अवसर

काठमाडौं । अगामी जुलाईमा हुने पेरिस ओलम्पिका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ ।

मे १३ देखि २५ सम्म हुने प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स पाकिस्तान र श्रीलंकाको सहभागिता रहने छ । दक्षिण एसियाका भारत र भुटानले सहभागिता नजनाउने आयोजक अखिल नेपाल टेबल टेनिस संघले बताएको छ ।

प्रतियोगिता संयोजक तेजेन्द्र सिंहका अनुसार विश्व वरियताको शीर्ष आठमा भएकाले भारतले छनोटमा भाग नलिने भएको हो ।

‘भारत विश्व वरियातको शीर्ष आठ भित्र भएकाले छनोट प्रतियोगितामा उपस्थित हुने छैन । प्रतियोगिता नकआउट पद्धतिमा हुनेछ,’ सिंहले भने ।  

प्रतियोगितामा हरेक देशबाट समान दुई पुरुष / महिलाले सभागिता जानउन पाउनेछन् । जसबाट समान एक पुरुष /महिला खेलाडीले फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेल्न पाउनेछन् ।

नेपालले पहिलो पटक टेबल टेनिसको ओलम्पिक छनोट आयोजना गर्न लागेको हो । प्रतियोगीतामा संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले नेपालको प्रतिनिधित्व गर्नेछन् ।  

नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष चतुरानन्द राजवैद्यले प्रतियोगिता सञ्चालनका लागि भारतबाट प्राविधिक आउने जनाकारी दिए । 

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा करिव १० लाख खर्च हुने आयोजकले जनाएको छ ।

टेबल टेनिसका मुख्य प्रशिक्षकराजेन्द्र कपाली भारतको अनुपस्थितिले नेपाललाई फाइदा पुग्ने बताउँछन् ।

‘भारत नहुन हाम्रा लागि राम्रो हो ।यो ओलम्पिकमा छनोट हुने सबैभन्दा ठूलो अवसर पनि हो । हाम्रा चारै खेलाडी दावेदार हुन् । तर ओलम्पिको छात्रवृतिमा रहेका संयोगलाई प्रमुख दावेदारको रूपमा लिइएको छ । अन्य टोलीभन्दा श्रीलंकासँग कडा प्रतिस्पर्धा हुनेछ  । हाल अस्ट्रेलियामा रहेका स्यान्टु केही दिनमा नेपाल आइपुग्छन्’, कपालीले भने ।

यदी यो प्रतियोगिताबाट नेपाली खेलाडी छनोट भएमा उनीहरु तेक्वान्दाका संगीना वैद्य र दीपक विष्टपछि छनोट चरण पार गरेर ओलम्पिक खेल्ने खेलाडी बन्नेछन् ।