जयकुमार नाथ शाह स्मृति यु-१६ क्रिकेट

रेडियन्टको पहिलो जित

काठमाडौं । जयकुमार नाथ शाह स्मृति यु-१६ ट्वान्टी २० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा रेडियन्ट रिडर्स एकेडेमीले पहिलो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदान( तल्लो) मा आइतबार सम्पन्न खेलमा रेडियन्टले त्रियोग हाइ स्कुललाई दुई विकेटले पराजित गर्यो ।

सान्त्वना जितसँगै समूह ‘ए’ को रेडियन्टले तीन खेलमा दुई अंक जोड्यो । तीन खेलमा पराजित त्रियोग अंकविहिन बन्यो ।

त्रियोगले प्रस्तुत गरेको १०६ रनको लक्ष्य रेडियन्टले १८.२ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । रेडियन्टका  लागि वैभव झाले १४, अनुज झाले १३  र सनातन नेपालल १२ रन बनाए ।

त्रियोगका लागि शिवाम्श अधिकारीले तीन आयुब विश्वकर्मा र एनिश खड्काले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको त्रियोगले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०५ रनको योगफल तयार पारेको थियो । त्रियोगका लागि श्रियन्श आचार्यले ४३ र अरिभ ढुंगानाले १४ रन बनाए ।

रेडियन्टका लागि अनुज झा र अनिल गुरुङले समान तीन तथा युसिन चन्दले दुई विकेट लिए ।