इन्डियन प्रिमियर लिग

लखनउलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा उक्लियो

काठमाडौं । लखनउ सुपर जायन्ट्सलाई ९८ रनले पराजित गर्दै कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

सिजन २०२४ मा पहिलो पटक शीर्ष स्थानमा उक्लने क्रममा लखनउविरुद्ध ओपनर सुनिल नारिनेले सानदार प्रदर्शन गरेका थिए । उनले एक विकेट लिनुका साथै ३९ बलमा सर्वाधिक ८१ रन बनाएका हुन् ।

बलिङतर्फ हर्षित राना र बरुन चक्रबर्तीले समान तीन विकेट लिएपछि कोलकत्ता सहज जित निकाल्न सफल भएको थियो ।

कोलकत्ताको ११ खेलबाट १६ अंक छ । राजस्थान रोयल्स दश खेलबाट समान अंक भएपनि दोस्रो स्थानमा झर्‍याे  । पराजित लखनउले शीर्ष चारमा उक्लने अवसर गुमायो । ११ खेलबाट १२ अंकसहित टोली पाचौँ स्थानमा छ ।

आइपिएलको ५४औं खेलमा कोलकत्ताले सुरुआती ब्याटिङ गर्दै ६ विकेट गुमाएर दुई सय ३६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा लखनउ १६.१ ओभरमा अल आउट हुँदा मात्र एक सय ३७ रन बनाउन सक्यो ।

लखनउको इनिङ्समा मार्कुस स्टोइनिसले सर्वाधिक ३६ र कप्तान तथा ओपनर केएल राहुलले २५ रन बनाए । हर्षित र बरुनले समान तीन विकेट लिएपछि लखनउका स्टोइनिस र राहुलले मात्रै ३३ बलमा ५० रनको साझेदारी गरेका हुन् ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकत्ताको लागि सुनिल र साल्टले पहिलो विकेटको लागि ६१ रनको साझेदारी, सुनिल र अंकृश रघुवंशीबीच ७९ रनको सर्वाधिक ठूलो साझेदारी भएको हो ।

नारिनेले ८१ रन बनाए । अंकृश र फिल साल्टले समान ३२ रन बनाएका हुन् । लखनउको नविन उल हकले सर्वाधिक तीन विकेट लिएका थिए ।