जयकुमार नाथ शाह स्मृति यु-१६ क्रिकेट

आलोक विद्याश्रमको सहज जित

काठमाडौं । जयकुमार नाथ शाह स्मृति यु-१६ ट्वान्टी २० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा सोमबार आलोक विद्याश्रमले गेटवे एकेडेमीविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

जितका बाबजुद आलोकको यात्रा अगाडि बढ्न भने सकेन । दोस्रो जितसँगै समूह ‘बी’ को आलोक तीन खेलमा चार अंकका साथ दोस्रो स्थानमा रह्यो । पराजित गेटवेले समान खेलबाट दुई अंक जोड्यो ।

यो समूहबाट तीनै खेलमा जित निकालेको डिएभी स्कुलले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।

मुलपानी क्रिकेट मैदान (तल्लो) मा गेटवेले प्रस्तुत गरेको ६३ रनको लक्ष्य आलोकले ८.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । आलोकका लागि सत्यम बस्नेतले २१ र रोहितकुमार शर्माले १२ रन बनाए ।

गेटवेका लागि दुवै विकेट मुर्शिद इकबालले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गेटवेले १२.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनको योगफल तयार पारेको थियो । गेटवेका लागि उज्वल गुप्ताले १८ र साइमन पन्तले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आलोकका लागि रायन शेर्पाले चार, अश्रभ पाण्डेले दुई र रोहितकुमार शर्माले एक विकेट लिए ।

सोमबार नै भएको खेलमा डिएभी स्कुलले ग्यालेक्सी पब्लिक स्कुलविरुद्ध ५५ रनको सहज जित निकाल्यो ।