सहिद स्मारक ‘सी’ डिभिजन लिग

सामाजिकको पहिलो जित

तस्विरः एन्फा

काठमाडौं । सामाजिक युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा शुक्रबार सामाजिकले स्वयम्भू क्लबलाई ४-२ ले पराजित गर्यो ।

जितसँगै पाँच खेलमा पाँच अंक जोडेको सामाजिक नवौं स्थानमा उक्लिएको छ । पराजित स्वयम्भू समान खेलबाट दुई अंकका साथ १२औं स्थानमा झरेको छ ।

सामाजिकलाई जित दिलाउन युगेश श्रेष्ठ र सुवास गोलेले समान दुई गोल गरे । स्वयम्भूका लागि प्रविनकुमार स्याङताङ र प्रकाश पुनले गोल गरे ।

तस्विरः एन्फा

खेलको १८औं मिनेटमा युगेशको गोलमार्फत सामाजिकले अग्रता लियो । पाँच मिनेटपछि युगेशले नै टोलीको अग्रता दोब्बर बनाए ।

सुवासले ३८औं मिनेटमा गोल गर्दा सामाजिक ३-० ले अगाडि बढ्यो । ४७ मिनेटमा प्रविनले गोल गर्दै खेललाई ३-१ को स्थितीमा ल्याए ।

सुवासले ७४औं मिनेटमा ब्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा प्रकाशले गोल गर्दा खेल ४-२ को स्थितीमा सकियो ।