साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की

महिला हक्कीः आर्मी च्याम्पियन

धुलिखेल । गण्डकी प्रदेशविरुद्ध ४-१ को जित निकाल्दै विभागीय टोली आर्मी क्लब छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ।

धुलिखेल खेल मैदानमा मंगलबार आर्मीलाई जित दिलाउन सरस्वती तामाङले दुई तथा सिमा खड्का र कमला चन्दले समान एक गोल गरे  । 
गण्डकीका लागि सीतामाया बलले एक गोल फर्काइन ।

खेलको चौथो मिनेटमा सरस्वतीको गोलमार्फत आर्मीले अग्रता लियो । १६औं मिनेटमा सीताले खेललाई बराबरीमा ल्याइन् ।

सरस्वतीले १८औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दा आर्मी २-१ ले अगाडि बढ्यो ।

कमलाले २४औं मिनेटमा कमलाले गोल गर्दै आर्मीको अग्रता ३-१ बनाइन् । ५७औं मिनेटमा सिमाले गोल गर्दै आर्मीलाई  ४-१ को जित दिलाइन् ।

उपाधिसँगै आर्मीले १ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता गण्डकीले ७५ हजार पारयो ।

मंगलबार नै  तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई १-० ले हरायो ।

आर्मीकी सरस्वती तामाङ १० गोलहित सर्वाधिक गोलकर्ता बनिन् । आर्मीकै निलिमा पाण्डले सर्वोकृष्ट खेलाडी,  सुदूरपश्चिमकी नमिता एसके उदीयमान खेलाडी, गण्डककी गोमा परियार उत्कृष्ट गोलकिपर, आर्मीकी सरिता मेचे उत्कृष्ट रक्षक चुनिए ।

सबैले जनही १० हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता  थियो ।