साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की

साहना प्रधान स्मृति हक्की: आर्मीको विजयी सुरुआत

धुलिखेल । छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विभागीय टोली आर्मी क्लबले विजयी सुरुआत गरेको छ । 

शनिबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३-० ले हरायो । धुलिखेल खेल मैदानमा भएको खेलमा आर्मीलाई जित दिलाउन सिमा खड्का, डम्मरा भट्ट र सरस्वती तामाङले गोल गरे ।

खेलको २१औं मिनेटमा सिमाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । डम्बरा ५०औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् ।

सरस्वतीले खेलको ५६औं मिनेटमा गोल गर्दै आर्मीलाई३-० को सहज जित दिलाइन् ।  जितसँगै आर्मीले तीन अंक जोडेको छ ।

प्रतियोगिता अन्तर्गत आज नै भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले अग्रता जोगाउन नसक्दा मधेस प्रदेशसँग १-१ को बराबरी खेलेको छ ।

बराबरीसँगै दुवै टोलीले १/१ अंक जोडेका छन् ।

प्रतियोगिता अन्तर्गत आइतबार चार खेल हुनेछन् । पहिलो खेलमा आर्मीले बागमती प्रदेश, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशको सामना गर्नेछन् ।

तेस्रो खेलमा गण्डकीले बागमतीको सामना गर्दा अन्तिम खेलमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम आमने सामने हुनेछन् ।  ।

प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टोलीको सहभागिता छ ।

प्रतियोगितामा पहिलो हुने टोलीले १ लाख पाउँदा दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ  प्राप्त गर्नेछन् ।