इन्डियन प्रिमियर लिग

पञ्जाव प्लेअफ बाहिर, आरसिबीको सम्भावना कायम

काठमाडौं । रोयल च्यालेन्ज बेंगलुरु (आरसिबी) सँग ६० रनले पराजित भएसँगै पञ्जाव किङ्सको इन्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफ सम्भावना सकिएको छ ।

बुधबार राति पहिले ब्याटिङ गर्दै आरसिबीले सात विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो । प्रत्युत्तरमा पञ्जावले १७ ओभरमा सबै किवेट गुमाउँदा मात्र एक सय ८१ रन बनाएको हो । खेलको प्लेयर अफ दि म्याच विराट कोहलीले ९२ रन बनाएका थिए ।

पञ्जावले १२ खेलबाट आठ अंक जोडेको छ । पञ्जावअघि मुम्बई इन्डियन पनि प्लेअफ खेल्नबाट टाढा रह्यो । पञ्जावसँग हारेको अवस्थामा आरसिबीको पनि प्लेअफ सम्भावना सकिने थियो । तर, १२ खेलबाट १० अंक जोडेपछि सम्भावना यथावत छ ।

११ खेल खेलेका कोलकत्ता र  राजस्थानको समान १६ अंक भएपनि नेट रनरेटका आधारमा कोलकत्ता शीर्ष स्थानमा छ । हैदराबाद १४ अंकसहित तेस्रो स्थानमा रह्यो ।

लक्ष्य पछ्याएको पञ्जावको इनिङ्समा रिली रोसोउले २७ बलमा सर्वाधिक ६१ रन बनाएका हुन् । शशांक सिंहले ३७, जोनी बाइस्टोले २७ र कप्तान साम करनले २२ रनको योगदान गरेका थिए । आरसिबीका मोहम्मद सिराजले सर्वाधिक तीन विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङ गरेको आरसिबीको लागि पूर्व कप्तान विराटले ४७ बलमा ९२ रन बनाएका थिए । उनले सात चौका र ६ चौका हिर्काए । रजत पटिदारले ५५ र कामरोन ग्रिनले ४६ रनको योगदान गरेका हुन् । पञ्जावका हर्षल पटेलले सर्वाधिक तीन विकेट लिए ।