सहिद स्मारक ‘सी’ डिभिजन लिग

समाज कल्याणको रोमाञ्चक जित

काठमाडौं । समाज कल्याण खेलकुद केन्द्रले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बिहीबार गोलबजार स्पोर्टस क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा समाज कल्याणलाई जित दिलाउन दुवै गोल रोशन क्षेत्रीले गरे । गोलबजारका लागि ओमप्रकाश सिंहले गोल फर्काए ।

जितसँगै सात खेलमा १२ अंक जोडेको समाज कल्याण तेस्रो स्थानमा उक्लिएको छ । पराजित गोलबजार समान खेलबाट पाँच अंकका साथ १३औं स्थानमा छ ।

खेलको नवौं मिनेटमा रोशनको गोलमार्फत समाज कल्याणले अग्रता लियो । उनले डिकेश लामाको क्रसलाई वान टचमै पोस्टको दिशा दिए ।

ओमले ६३औं मिनेटमा खेललाई बराबरीमा ल्याए । उनले विनु आलेमगरले कर्नरबाट उपब्ध गराएको बललाई हेडमार्फत जाली चुमाए ।

गोल बजारको यो बराबरी लामो समयसम्म टिक्न भने सकेन । पाँच मिनेटपछि नै रोशले ब्यक्तिगत दोस्रो गोल गर्दै समाज कल्याणलाई २-१ को अग्रता दिलाए । उनले यस पटक पनि डिकेशको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा समाज कल्याणले रोमाञ्चक जित निकाल्यो ।