पोखरा स्पोर्टस अवार्ड

पोखरा स्पोर्टस अवार्डको तयारी पूरा

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौं पोखरा स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनमार्फत अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुने जानकरी दियो।

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरी सात विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक दीननाथ बरालले बताए ।

 वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरी चार विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भइसकेको छ ।

वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर छन् ।  वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने अध्यक्ष बरालले जानकारी दिए।

उदियमान खेलाडीकाे मनाेनयनमा  क्रिकेटकी ज्योत्सनिका मरासिनी, व्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की छन् । उत्कृष्ट प्रशिक्षकको दौडमा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु छन् ।

उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फका विजेताले ३५ हजार रुपैयाँका साथ ट्रफी पाउनेछन् । उत्कृष्ट तीनको मनोनयन सूचीमा परेकालाई ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ ।

यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई प्रदान गर्ने घोषणा भइसकेको छ । मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरिनेछ ।  

वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले  ३५ हजार रुपैयाँको साथमा अवार्ड पाउनेछन् ।

ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तर्राष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई स्पेशल अवार्डबाट सम्मान गर्ने निर्णय समेत खेलकुद पत्रकार मञ्च गण्डकीको ३९औं बैठकले गरेको महासचिव राजाराम पौडेलले जानकारी दिए ।

प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहनेछ ।