विश्वकपमा अफ्रिका

विश्वकपमा अफ्रिकाको दमदार पुनरागमन

दोहा । चार वर्षअघि रुसमा सम्पन्न विश्वकपमा सन् १९८६ यता पहिलो पटक प्रतियोगिताको अन्तिम १६ अफ्रिकी प्रतिनिधिविहीन थियो । तर कतारमा भने त्यसको प्रतिक्रिया बलियो देखिएको छ ।

२०२२ को प्रतियोगितामा अफ्रिकी महादेशका दुई टोली नकआउट चरणमा पुगेका छन् । विश्वकपको इतिहासमा दुई अफ्रिकी टोली नकआउट चरण पुगेको यो दोस्रो पटक हो । यसअघि सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपमा अफ्रिकाका अल्जेरिया र नाइजेरियाले नकआउट चरणको यात्रा गरेका थिए ।

अफ्रिकी राष्ट्रहरूले समूह चरणमा स्वीडेन १९९८ मा जोडेको १५ अंक यसअघिको कीर्तिमान थियो । यसपाली अफ्रिकी टोलीहरुले त्यसमा पनि सुधार गर्ने क्रममा समूह चरणमा २४ अंक जोडेका छन् ।

क्रोएयिसँग बराबरी खेलेको मोरक्कोले फिफा विश्व वरीयताको दोस्रो स्थानमा रहेको टोली बेल्जियम र क्यानडालाई हराउँदै समूह ‘एफ’को विजेता बन्दै अगाडि बढ्यो । सेनेगलले नेदरल्यान्ड्ससँगको सुरुआती हारबाट पुनरागमन जनाउँदै कतार र इक्वेडरमाथि जित हासिल गरेको थियो ।

क्यामरुन ब्राजिललाई हराउने पहिलो अफ्रिकी राष्ट्र बने पनि समूह चरण पार गर्न भने सफल भएन ।  

मोरक्कोको लागि स्पेनसँग मंगलबार हुने भिडन्त ३६ वर्ष पछि विश्वकपको नकआउट चरणमा पहिलो खेल हुनेछ । अरबी हर्षोल्लासको अर्को माहोलमा जम्न टोलीका समर्थकहरू हजारौंको संख्यामा फेरि कतार पुग्ने छन् ।

‘हामी अफ्रिकी फुटबलको झण्डा माथि फहराउने आशा गर्छौं,’ मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले भने, ‘मलाई लाग्छ यो विश्वकपमा हामीले ठूलो लगानी गरेका टोलीलाई पनि टक्कर दिन सक्छौं भन्ने प्रमाणित गरिसकेका छौं । चाहे त्यो युरोपेली टोली होस् वा दक्षिण अमेरिकी टोली, हामी कसैसँग डराउनु जरुरी छैन ।’

‘भविष्यमा अझै धेरै अफ्रिकी टोलीहरूले विश्वकपमा राम्रो गरेको देख्नेमा म आशावादी छु । अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने २०२६ को विश्वकपमा पहिले भन्दा धेरै अफ्रिकी देशहरू समावेश हुनेछन्, प्रतियोगिता ३२ बाट ४८ टोलीहरूमा विस्तार गरिएको छ,’ रेग्रागुईले थपे, ‘यसपाली भएन भने पनि अफ्रिकाले चाँडो भन्दा चाँडो आफ्नो पहिलो विश्वकप सेमिफाइनलको आशा गर्नेछ ।’

सेनेगल २०१८ मा समूह चरण पार गर्न सबैभन्दा नजिक थियो । तर जापान भन्दा धेरै पहेंलो कार्ड पाएको कारणले बाहिरिन पुग्यो । यसपाली भने दृष्य फेरिएको छ । सेनेगल कतार विश्वकपमा अन्तिम १६ पुग्ने पहिलो अफ्रिकी मुलुक बन्न सफल भइसक्यो ।

इक्वेडरविरुद्ध कालिडो कोउलिबालीले निर्णायक गोल गरेका थिए । उनले आफूहरु मोरक्कोले बेल्जियममाथि हासिल गरेको जितबाट प्रेरित भएको बताए ।

‘हामीले मोरक्कोले बहादुरीपूर्ण फुटबल खेलेको देख्यौं । उनीहरूले बेल्जियममाथि सुन्दर जित हात पारे,’ सेनेगलका प्रशिक्षक अलिउ सिसेले भने, ‘यो हाम्रो लागि थप प्रेरणाको स्रोत हुन सक्छ ।’

मानसिकता परिवर्तन

समूह चरणबाटै बाहिरिएका अफ्रिकन टोलीले पनि प्रतियोगितामा आफ्नो छाप  राख्न सफल भए । ट्युनिसियाले साविक विजेता फ्रान्सलाई हराएर सनसनी मच्चायो । पाँच पटकको विजेता ब्राजिललाई पराजित गर्नुअघि क्यामरुनले विश्वकपमा रोमाञ्चक पुनरागमन गर्दै सर्बियासँग ३–३ को बराबरी नतिजाका साथ आठ खेलको हारको सिलसिला अन्त्य गरेको थियो ।

धेरै अफ्रिकी खेलाडीहरू युरोपका शीर्ष क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । यस विश्वकपमा मोहम्मद सालाह र साडियो माने अनुपस्थित भए पनि त्यसले खासै असर नगेरको स्पष्ट देखिन्छ ।

युरोपेली टोलीहरूले पछिल्ला चार विश्वकप जितेका छन् । युरोप वा दक्षिण अमेरिका बाहिरको कुनै पनि टोली अहिलेसम्म फाइनलमा पुग्न सकेका छैनन् ।

‘युरोपेली टोलीविरुद्ध पहिलो खेल खेल्दा जहिले पनि आफू निक्कै बलियो हुनुपर्छ । किनभने युरोपेली टोलीहरू कठिन प्रतिद्धन्द्धी हुन् र कुनै पनि प्रतियोगितामा पहिलो खेलको अर्थ विशेष रहने गर्छ,’ रेग्रागुइले थपे, ‘हामीसँग युरोपेली क्लबबाट खेल्ने खेलाडी छन् । हामीले युरोपेली मानसिकता लिनु पर्छ र यसलाई आफ्नो बनाउनु पर्छ । त्यसो भए युरोपको नामबाट डराउनु पर्दैन ।’

२०१० मा सेमिफाइनल नजिक पुगे पनि घानालाई उरुग्वेको गैह्र फुटबलीय व्यवहारले क्वार्टरफाइनलबाटै विदा गरेको थियो । घानाका खेलाडीले प्रहार गरेको बल गोलमा परिणत हुनै लाग्दा लुइस स्वारेजले नियतवश गोललाइनबाट हातले बल फर्काएका थिए । त्यसवापत स्वारेजले रातो कार्ड तथा घानाले पेनाल्टी पायो । तर असामोह जियानले पोनाल्टी चुकाउँदा घाना जितबाट विमुख भयो । पेनाल्टी सुटआउटमा पनि उरुग्वेले बाजी मार्दा घाना विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी देशको रुपमा इतिहास लेख्ने मौकामा चुकेको थियो ।

टोलीले शुक्रबार त्यो बदला लिन सकेन । किनकि विश्वकपको मञ्चमा उरुग्वेविरुद्धको खेलमा फेरि एक पटक घाना पेनाल्टीमा असफल भयो । खेल गोलरहित बराबरीको अवस्थामा हुँदा आन्द्रे आयुले पेनाल्टी चुकाउँदै इतिहास दोहो¥याएका थिए । जसको परिणाम स्वरुप टोली २-० ले पराजित हुन पुग्यो । 

उरुग्वे बाहिरिएर दक्षिण कोरिया अघि बढ्दा घानालाई केहि खुसी भने पक्कै दिएको छ ।

‘मेरो लागि उरुग्वे बाहिरिनु राम्रो हो,’ मिडफिल्डर ड्यानियल अमर्टेले भने, ‘उनीहरुलाई यतिमै रोक्न निक्कै गाह्रो थियो । किनकि उरुग्वेका सबै खेलाडी आक्रमणमा आएका थिए । उनीहरुलाई थप एक गोल आवश्यक थियो । तर हामीले रोक्यौं ।’ 

अफ्रिकाले विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा अझै धेरै लामो यात्रा तय गर्न बाँकी छ । तर अफ्रिकासँग यसपाली दुई आशावादी राष्ट्रहरू विश्वकपमा बाँकी छन् । जो फाइनलबाट तीन जितले मात्र टाढा छन् ।