ट्वान्टी २० शृंखला

वेस्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई १६१ रनको लक्ष्य

काठमाडौं । काठमाडौं । ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामू १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै रनको १६० योगफल तयार पार्यो ।

वेस्ट इन्डिजका आन्द्रे फ्लेचरले ४३, गुडाकेश मोतीले अविजित ३३ रन र म्याथ्यु फोर्डले अविजित ११ रन बनाए । मोतीले मात्र आठ बलमा चार छक्का र दुई चौका प्रहार गरे ।

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान दुई तथा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले एक विकेट लिए ।

सागरले तेस्रो ओभरको दोस्रो बलमा ओपनर एलिक अथानाजलाई ब्यक्तित ६ रनमा कुशल मल्लबाट क्याच गराए । सोही ओभरको पाँचौं बलमा ११ रन बनाएर खेलिरहेका अर्का ओपनर जोनसन चार्ल्स बोल्ड भए ।

कुशल भुर्तेलले १०औं ओभरको अन्तिम बलमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजलाई बोल्ड गरे । २२ बलको सामना गरेका चेजले दुई चौका र एक छक्काको मद्दतले २३ रन बनाए ।

१४औं ओभरको दोस्रो बलमा कुशलले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो विकेट लिए । उनले केसी कार्थीलाई १० रनमा कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए ।

सोमपाल कामीले १७औं ओभरको पहिलो बलमा आठ रन बनाएका किमो पउललाई बोल्ड गरे ।

१८औं ओभरको दोस्रो बलमा हाइडेन वाल्स रन आउटको सिकार बने । उनले नौ रन बनाए । सोहि ओभरको पाँचौं बलमा आन्द्रे फ्लेचरलाई दीपेन्द्रसिंह ऐरीले ४३ रनमा लोकेश बमबाट क्याच गराए । ३६ बलको सामना गरेका फ्लेचरले तीन छक्का प्रहार गरे ।