काठमाडौं । साविक विजेता नेपाल एपिएफ क्लबले ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार एपिएफले बागमती प्रदेशविरुद्ध आठ विकेटको जित निकाल्यो ।
जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित बागमती अंकविहिन छ । पहिलो खेलमा एपिएफले कोशी प्रदेशलाई २४ रनले पराजित गर्दा बागमती ललितपुर मेयर ११सँग सात विकेटले पराजित भएको थियो ।
बागमतीले प्रस्तुत गरेको ७४ रनको लक्ष्य एपिएफले ११ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । एपिएफका लागि ममता चौधरीले अविजित ३५ रन बनाइन् । यसैगरी इन्दु बर्माले १७, कप्तान सीता रानमगरले ११ र राजमति ऐरीले अविजित १० रन जोडे ।
बागमतीका लागि खुशी डंगोलले एक विकेट लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७३ रनको योगफल तयार पारेको थियो । बगमतीका लागि हेनिशा गुरुङले ३१ र खुशी डंगोलले अविजित १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपिफका लागि करुणा भण्डारीले चार ओभरमा १० रन खर्चिदै चार विकेट लिइन् । यसैगरी सीता रानामगरको नाममा दुई विकेट रह्यो ।