काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत प्रतियोगिताको दोस्रो दिन शुक्रबार समूह ‘ए’ को दोस्रँो खेलमा माल्दिभ्स र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । दशरथ रंगशालामा हुने खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।
पछिल्लो संस्करण यही दशरथ रंगशालामा सम्पन्न भएको थियो । सात टोली सहभागी रहेको उक्त संस्करणमा माल्दिभ्स र श्रीलंका यस्ता टोली रहे जसले विपक्षी पोस्टमा एक गोल पनि गर्न सकेन ।
समूह ‘ए’ मा रहेको माल्दिभ्स १९ गोल र ‘बी’ मा रहेको श्रीलंका ११ गोल खाँदै प्रतियोगिताबाट बाहिरिएको थियो । त्यसअघि विराटनगरमा सम्पन्न पाँचौं संस्करणमा पनि माल्दिभ्स गोलविहीन टोली बनेको थियो । श्रीलंकाले भने त्यतिबेला दुई गोल गरेको थियो ।
श्रीलंकाले तीन पटक सेमिफाइनलको यात्रा गर्दा माल्दिभ्सले एक पटक त्यो उपलब्धि हासिल गरेको छ । यी दुई तेस्रो पटक एकअर्कासँग खेल्न लागेका हुन् । २०१६ सिलिगुढीमा माल्दिभ्सले पहिलो भेटमा श्रीलंकालाई समूह चरणमा ५–२ गोल अन्तरले हराएको थियो ।
त्यही बेला त हो माल्दिभ्सले सेमिफाइनलको यात्रा गरेको । त्यसको अर्को संस्करण विराटनगरमा यी दुईको लगातार दोस्रो पटक भेट भयो । यसपालि श्रीलंकाले पछिल्लो संस्करणको बदला लियो । नतिजा २–० ले श्रीलंकाको पक्षमा गएको थियो । त्यही दुई गोलले त हो श्रीलंकाले आफ्नो लाज ढाकेको ।
त्यसैले पनि शुक्रबारको खेल मनोरञ्जनात्मक हुने अनुमान गर्न सकिन्छ । दुबैलाई गोलको खडेरी तोड्ने चुनौती छ ।
कस्को पल्ला भारी ? भन्न कठीन छ । यसबीच दुबै टोलीका प्रशिक्षकले पत्रकार सम्मेलनमा फरक विचार भने प्रस्तुत गरेका छन् । श्रीलंका प्रतियोगितालाई लिएर सकारात्मक छ ।
मुख्य प्रशिक्षक हसन रोमी भन्छन्, ‘हामी प्रतियोगिताका लागि तयार छौं । हामीले ४० दिनको प्रशिक्षण गरेका थियौं । यो पर्याप्त समय हो जस्तो लाग्छ । यसक्रममा हाम्रा खेलाडीको व्यक्तिगत प्रदर्शनमा सुधार ल्याएका छन् । त्यसैले हामीले प्रतियोगिता प्रदर्शनको अपेक्षा गरिरहेका छौं । हाम्रो उद्देश्य आफूले सक्दो खेलेर अगाडि बढ्ने नै हो ।’
माल्दिभ्सका मुख्य प्रशिक्षक मोहम्मद निजामको भनाइ ठीक उल्तो छ । उनले भनेका थिए, ‘हामीले धेरै तयारी गर्न पाएका छैनौं । हामीले आफूले दिन सक्ने दिन्छौं । तर, सबै परिस्थिति हाम्रो अनुकूल छैन । सकेसम्म राम्रो गर्ने प्रयास गर्नेछौं ।’