प्रिय नानी, प्रिय धावक, प्रिय ओलम्पियन-हाम्री गोल्डेन गर्ल,
स्वर्ण विजेता खेलाडीले दूरी ३३ मिनेटसम्म पर्खेर तिमीलाई अँगालो हाल्नु नै तिम्रो जित हो ।
न्यानो अँगालो सामान्य होइन, यो सहृदयीता, स्नेह, प्रेम र सम्मान तिमीले कमाएको खेलजीवनका उत्कृष्ट उपहार हुन् । यसलाई प्रेमले आफ्नो हृदयमा जीवनभरी सजाएर राख्नु । तिम्रो प्रेरणा, तिम्रो सखी सिफान हसनको न्यानो अँगालोलाई अनुभूत गर !
तिमीले आठौं राष्ट्रिय खेलकुदमा १५०० मिटर, ५००० मिटर र १००० मिटरमा पदक जित्दा ‘छोटो दूरी र मध्यम दुरी एउटै खेलाडीले खेल्न र मेडल लगाउन कसरी सम्भव छ ?’ भन्ने खालका प्रश्नहरुको सामना गरेकी थियौ ।
तर त्यसको केही दिनमै आज तिमिलाई अँगालो हाल्ने तिम्रो प्रेरणादायी खेलाडी सिफानले त्यस्तै गरेर आफूलाई प्रमाणित गरेकी थिइन्, साथै तिमीमाथि आएका खराब प्रश्नको जवाफ भएकी थिइन् । त्यसअघिसम्म उनको फलोअर मात्र रहेकी तिमीले त्यही दिनदेखि सिफानलाई आत्मीय रुपमा चिनेकी थियौ । यही संयोगले म पनि सिफानसँग परिचित भएको थिएँ ।
संयोगहरु सुन्दर हुन्छन्, तिमीले नेदरल्यान्ड्सको ग्लोबल कम्युनिकेशनको प्रशिक्षण अवसर र आघात उपचारको चाँजोपाँजो पाउँदा एसियाली खेलाडीका लागि यो विरलै पाइने यो संयोग त थियौ नै । तिमीले यही अवसरमा इथियोपियामा जन्मेका नेदरल्यान्ड्सकी उत्कृष्ट धावक सिफानलाई भेट्न मात्र पाएनौ, सँगै प्रशिक्षण लिन पनि पायौं ।
तिमीले आफ्नो आत्मा भरेकी धावकसँग सुख-दुःख साट्न मात्र पाएनौं, सुन्न र महसुस गर्न पनि पायौं । तिमीहरुले मध्यरातमा जुन हेर्दै घण्टौं कुराकानी गरेका पलहरु मलाई पनि सुनाउँदा मेरा कान मात्र होइन रौंहरु पनि ठाडा भएका थिएँ । आज उनी र तिमी एउटै यात्रामा थियौ, एउटै सडकमा थियौ, एउटै ओलम्पिकमा थियौ । हो आज उनको अँगालो तिमीलाई कुरिरहेको थियो ।
बंगलादेशमा म्याराथन डेब्युमै राखेको आफ्नै राष्ट्रिय कीर्तिमान तोड्न सकेनौं, यसमा तिम्रो मन हुँडलिइरहेको होला । तर यो लक्ष्य सामान्य थिएन । यसपालीको म्याराथन कोर्स त्यति सहज पनि थिएन, सहरको भित्री भागहरु घुम्दै दौडनुपर्ने यो कोर्स आकर्षक थियो । तर वारम्बार आइरहने घुम्ति र उकाली(ओरालीले कोर्सलाई निक्कै चुनौतीपूर्ण बनाएको थियो ।
यी सबै थाहा हुँदाहुँदै पनि हामी भने आफ्नै राष्ट्रिय कीर्तिमान भङ्ग गर्नुपर्छ भनेर दवाव दिन्थ्यौं । अझ २ घण्टा ४० मिनेटभित्रै सकिन्छ भनेर उकासिरहन्थ्यौं । ती सब उक्साहट तिमीलाई उत्साह भर्नका लागि थिए ।
हामी यता बसेर लाइभ हेरिराख्दा विभिन्न देशका ११ खेलाडीलेबीचबाटै खेल छाड्दा तिमीले चाहिँ पक्कै पूरा गर्नेछौ भनेर विश्वासका साथ मुटु बाँधेर बसिरहेका थियौं । तिमीले आफ्नो कीर्तिमानभन्दा बढी समयमा दुरी पार गरे पनि ओलम्पिक कोर्स पूरा गरेकोमा हामी खुशी भइरहेका छौं र भनिरहेका छौं, बधाई नानी ।
दुई दिनअघि मात्र पुरानो आघातमा अलिकति दुखेको भन्थ्यौं, अनि सिफानका प्रशिक्षक र फिजियो टिमले नै केही उपचार पनि गरिदिए भन्ने सुन्दा चिसो पसेको थियो । ती सहृदयी टिमलाई अथाह धन्यवाद सुनाइदेऊ ।
सिफानलाई बधाई र माया र सुनाइदेऊ ।हामी तिमीलाई दुःखाईमा ध्यान नजाओस् भनेर खुट्टा कस्तो छ ? भनेर पनि नसोधी अमानवीय रुपमै कठोर भएर बस्यौं । अब सोध्न मन छ, ‘ओलम्पिक दौड पूरा गरेको खुट्टालाई कस्तो छ नानी ? ’
यो सँगै ओलम्पिक यात्राका लागि साथ दिने मुख्य प्रशिक्षक रघुराज वन्तलगायत सम्पूर्ण प्रशिक्षकहरु, खेलकुद परिषद्, ओलम्पिक कमिटी, एथलेटिक्स एसोसिएसन र प्रशिक्षणका सहयात्री धावकहरु, सञ्चारकर्मी तथा सञ्चारमाध्यम, सम्पूर्ण शुभेच्छुक मनहरुलाई परिवारको तर्फबाट हृदयभरीको धन्यवाद । यो यात्रा सफल बनाउन यहाँहरुको पनि उत्तिकै मेहनत, लगाव र भवनाहरु जोडिएका छन्, नमन ।
तिम्रो दाजु ।
२०८१ साउन २७
(सन्तोषीका दाजु केदार श्रेष्ठले फेसबुकमा पोष्ट गरेका भावना र तस्बिर सामान्य सम्पादनसहित प्रकाशन गरिएको हो ।)