आश्विन १९, २०८१ शनिबार | १०:०३:४६
टेस्ट क्रिकेटमा कामिन्दुको कमाल फुटबलमा ‘डार्क आर्ट्स’ इडब्ल्युभिएलको उपाधिका लागि भिड्दै कर्णाली र ललितपुर महिला ट्वान्टी-२० विश्वकप क्रिकेटः अस्ट्रेलिया सदाबहार दाबेदार, भारतलाई छ चुनौती समाज कल्याणको आयोजनामा फुटबल प्रतियोगिता हुने गण्डकी सोझो सेटमा विजयी, मधेश जितविहिन नेपालको पहिलो जित, उज्वेकिस्तान १२-७ ले पराजित ललितपुरको फाइनल सम्भावना कायमै, बाहिरियो चितवन खेल ढिला भएपछि टिकट मुल्य फिर्ता गर्न दर्शकको माग संकटाविरुद्ध पुलिसको रोमाञ्चक जित टेस्ट क्रिकेटमा कामिन्दुको कमाल फुटबलमा ‘डार्क आर्ट्स’ इडब्ल्युभिएलको उपाधिका लागि भिड्दै कर्णाली र ललितपुर महिला ट्वान्टी-२० विश्वकप क्रिकेटः अस्ट्रेलिया सदाबहार दाबेदार, भारतलाई छ चुनौती समाज कल्याणको आयोजनामा फुटबल प्रतियोगिता हुने गण्डकी सोझो सेटमा विजयी, मधेश जितविहिन नेपालको पहिलो जित, उज्वेकिस्तान १२-७ ले पराजित ललितपुरको फाइनल सम्भावना कायमै, बाहिरियो चितवन खेल ढिला भएपछि टिकट मुल्य फिर्ता गर्न दर्शकको माग संकटाविरुद्ध पुलिसको रोमाञ्चक जित
शनिबारको दिन पारा ओलम्पिक

सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा

पछिल्लो साता नेपाली खेलकुदले खुसी मनाउने गर्विलो अवसर पायो । कयौं दशकसम्म नेपालका खेल प्रशासकहरूले सपनामा समेत नदेखेको उपलब्धि भर्खरै किशोरावस्था पार गरेकी खेलाडीबाट वास्तविकतामा सम्भव भयो ।

विश्वस्तरका प्रतियोगिता वा खेल महोत्सवमा सधैं उपस्थितिलाई मात्र सहभागिता जनाउने गरेको नेपालले पारा ओलम्पिक खेलकुदमा पदक जित्यो । प्रतिस्पर्धामार्फत ओलम्पिक अभियानमा सहभागी हुन थालेको ६० वर्षे इतिहासमा नेपालका लागि भर्खर २१ वर्षमा टेकेकी पलेशा गोवर्धनले पहिलो पदक जितिन ।

१९६४ को टोकियो ओलम्पिकबाट यात्रा सुरु गरेको नेपालले पारा ओलम्पिकमा भने २००४ को एथेन्सबाट सहभागिता थालेको हो । जहाँ यसअघिसम्म राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने वा एक-दुई बाउट जित्नु नेपालको ‘ठूलो’ लक्ष्य रहने गर्थ्यो । १९८६ को सोल ओलम्पिकमा तेक्वान्दोलाई प्रदर्शनी खेलका रूपमा समावेश गरिँदा विधान लामाले जितेको कांस्य पदक नेपालको निम्छरो ओलम्पिक यात्रामा चित्त बुझाउने सबैभन्दा ठूलो उपलब्धि थियो । जुन ओलम्पिकको आधिकारिक तथ्यांकमा कहींकतै समावेश छैन । हुँदैन ।

यस अर्थमा पलेशाको पदक नेपाली खेलकुदका लागि ऐतिहासिक छ । गर्व गर्न लायक छ । पलेशाको उपलब्धिले ओलम्पिक, विश्व च्याम्पियनसिप तथा विश्वकपहरूमा ‘हामी सक्दैनौं’ भन्ने निम्छरो भाष्यलाई गलत साबित गरिदिएको छ । आँट गरे ‘हामी पनि सक्छौं’ भन्ने विश्वास पैदा गराएको छ । यही विश्वासले भविष्यका दिनमा अरू थुप्रै विश्वस्तरीय पदक नेपालसँग हुनसक्छ । तर, पहिलो पदकको इतिहास पलेशाको यही कांस्य पदकले लेखिसकेको छ । यस अर्थमा पनि यो विशेष छ ।

पेरिस पारा ओलम्पिकको तेक्वान्दोअन्तर्गत के–४४ विधामा ऐतिहासिक कांस्य जितेकी पलेशाको गौरवमय स्वदेश आगमन भइसकेको छ । बुधबार त्रिभुवन विमानस्थलमा उत्रनेबित्तिकै उनले हकलाग्दो सम्मानजनक स्वागत पाइन् । हजारौं समर्थकले उनलाई स्वागत गरेपछि नगर परिक्रमामा पूरापूर साथ दिएर उनको मिहिनेत, क्षमता र उपलब्धिमा सम्मान व्यक्त गरिरहे ।

राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयले तत्कालै सम्मान सभा अयोजना गर्यो । लगत्तै काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गर्यो । निजी क्षेत्रको व्यावसायिक प्रतिष्ठान एनसेलले नगद पुरस्कारको घोषणा गर्यो । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले आ–आफ्नै निवासमा बोलाएर पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामासहितको टोलीलाई सम्मान गरे । प्रधानमन्त्रीले त ओलम्पिकमा पदक जितेवापत राज्यबाट पुरस्कारस्वरुप पाउने ६५ लाख रुपैयाँमा कर कट्टी नगरिने घोषणासमेत गरिदिए ।

समग्रमा वषौंको मिहिनेतपछि प्राप्त यो उपलब्धिले पलेशालाई अचेल झन बढी व्यस्त बनाएको छ । बधाई र सम्मान थाप्न भ्याइनभ्याइ छ । पलेशाको यो ऐतिहासिक उपलब्धिको श्रेय लिनकै लागि भए पनि उच्च सरकारी निकायदेखि निजी कम्पनी, खेलकुदका विभिन्न निकाय र व्यक्तिहरूसम्म तँछाडमछाड गरिरहेका छन् ।

आमखेलप्रेमी यो उपलब्धिबाट उत्साही हुनु स्वाभाविक हो । खेलप्रेमीबाट पाउने यस्तै मायाका कारण त हो, नेपालजस्तो देशमा एउटा खेलाडीले प्रेरणा पाउने । सफलताका लागि मिहिनेत गर्न हौसला पाउने । पलेशाको संघर्षमय यात्रामा साथ सहयोग दिनेहरू खुसी हुनु र यसलाई भव्यतापूर्वक मनाउन खोज्नु पनि स्वाभाविक हो । हिजो संघर्षमा कुनै योगदान गर्न नपाएकाहरूले पनि कम्तीमा उपलब्धिको ‘सेलिब्रेसन’मा आफूलाई समावेश गर्नुलाई पनि सकारात्मक रूपमा लिनुपर्छ । यसबाट पनि राष्ट्रिय गौरव बढाउने काममा केही इँटा थप्न सकियो भने समाज र राष्ट्रले नै त्यसको मूल्यांकन गर्छ भन्ने सन्देश स्थापित गर्न मद्दत नै पुग्छ ।

पलेशाबाट सम्भव भएको नेपाली खेलकुदको ऐतिहासिक सफलताको हिस्सा बन्न चाहनेहरूको हानथापले अचेल उनलाई पारा ओलम्पिकको तयारीमा रहँदा भन्दा पनि व्यस्त बनाएको छ । जुन स्वाभाविक छ । साँच्चै देशलाई यति ठूलो उपलब्धि दिलाउने खेलाडीले पाउने सम्मान र पुरस्कार अहिले भइरहे भन्दा पनि धेरै हुनुपर्छ ।

पलेशाको यो सफलतामा उनको व्यक्तिगत धैर्यपूर्ण मिहिनेत र क्षमता, परिवारको असीमित साथ अनि उनका प्रशिक्षक कविराज नेगीको लगावको भूमिका सबैभन्दा माथि छ । त्यसमा तेक्वान्दो संघका प्राविधिक योजनाले केही हदसम्म भूमिका खेलेको छ । वास्तवमा यिनै पक्षका कारण त हो, पछौटे समाजमा एउटा हातको हत्केलाभन्दा मुनिको भाग नलिइकनै जन्मिएकी एक छोरीले संघर्षको माध्यमबाट राष्ट्रिय गौरवको रूपमा स्थापित हुने यात्रामा सफलता प्राप्त गरेको ।

सफल भएपछि पूरा दुनियाँ पछि लाग्छ । तर सफलताका लागि प्रेरित गर्ने र संघर्षका दिनमा स–साना सहयोग गर्नेको स्थान सबैभन्दा माथि हुनुपर्छ । यसकारण नेपाली खेलकुदमा पलेशा, उनको परिवार, प्रशिक्षक लामा र तेक्वान्दो संघको स्थान सबैभन्दा माथि छ ।

पारा ओलम्पिकको कांस्य पदकका लागि पलेशाको सम्मानमा अहिले हानथाप गर्नेहरू सबै नेपाली खेलकुदलाई सकारात्मक उर्जा दिने स्रोतहरू हुन् । यसमा कुनै दुविधा छैन । तर, सरकारी निकायको भने सफलतामा सम्मान गरेकै भरमा जिम्मेवारी पूरा हुँदैन ।

एउटा खेलाडी नितान्त आफ्नो व्यक्तिगत र पारिवारिक योगदानका भरमा सफल भएर आइरहँदा सम्मान र पुरस्कारका लागि हानथाप गर्ने परिषद्का सदस्यसचिवदेखि मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्मले एउटा कुरा मनन गर्नु जरुरी छ, ‘गरे हुँदोरहेछ’ । खेलाडी आफैंले परिवार र प्रशिक्षकको साथको भरमा गर्दा त विश्वस्तरमा राष्ट्रिय गौरव स्थापनाको अभियान सफल हुँदोरहेछ भने राज्यले नै दीर्घकालीन योजनासहित काम गरे अरू धेरै यस्ता सफलता हासिल हुन्छ भन्ने पलेशाको पदकले प्रमाणित गरेको छ । साथमा पारा खेलकुदमा नेपालको ठूलो सम्भावना छ भन्ने प्रमाण यसले दिएको छ । अपांगता र फरक क्षमता भएकाहरूको लागि प्रेरणाको ठूलो स्रोत मिलेको छ ।

सँगै नेपालका खेल प्रशासकहरूले ‘नेपाली खेलकुदमा ठूलो लगानी छैन । त्यसैले विश्वस्तरमा पदक जित्न सकिन्न’ भनेर स्थापित गरेको भाष्य पनि पलेशाले गलत साबित गरिदिएकी छन् । तेक्वान्दो संघको मार्गदर्शन, प्रशिक्षक लामाको मिहिनेत, पलेशाको क्षमता र परिवारको समर्पणले व्यवस्थित र सही तरिकाले गर्न सके थोरै लगानीबाट पनि ठूलो सफलता सम्भव हुन्छ भन्ने प्रमाणित भएको छ ।

पलेशाले जितेको पदकसँगै ‘हामी सक्छौं’ भन्ने भावनालाई राष्ट्रपतिदेखि परिषद्सम्मकै सरकारी नेतृत्वले आत्मसात गर्नुपर्छ । त्यहीअनुसार योजना बनाएर इमान्दारीसाथ कार्यान्वयन गर्नुपर्छ । बजेट छैन भनिरहँदा पनि ‘जंगबहादुर’ शैलीमा बर्सेनि अर्बौं रुपैयाँ नेपाली खेलकुदको बगरमा खन्याएको छ । अब त्यसलाई लगानी गर्नुपर्ने क्षेत्र र तरिकाको सही पहिचान गरेर व्यवस्थित तरिकाले योजनाबद्ध रूपमा खर्च गर्ने हो भने प्रतिफल ठूलो आउने कुरा सबै तह र तप्काका सरकारी निकाय र नेतृत्वले बुझ्नुपर्छ ।

अर्काको मिहिनेतबाट प्राप्त सफलतामा जस लिन दौडिएसँगै थप यति गर्न सके पलेशाका प्रशिक्षक लामाले भनेजस्तै २०२८ को लस एन्जल्स ओलम्पिकमै योभन्दा बढी र ठूलो पदक सम्भव हुनसक्छ । ६ दशकपछि ओलम्पिकमा एउटा पदक र एकजना विजेता पाएको नेपाली खेलकुदले अर्को कालखण्डमा कयौं ओलम्पिक, पारा ओलम्पिक, विश्वकप र विश्वस्तरका पदक अनि उत्तिकै खेलाडी पाउनेछ ।

नेपाली खेलकुदलाई गर्व गर्ने ऐतिहासिक अवसर दिएकामा पलेशालाई धेरै धेरै धन्यवाद ! पलेशाको परिवार र प्रशिक्षक लामालाई सलाम ! तेक्वान्दो संघप्रति आभार ! अनि, सरकारलाई पलेशाको सफलताबाट प्राप्त सन्देश कार्यान्वयन गर्दै नेपाली खेलकुदलाई राष्ट्रिय गौरव स्थापनाको मार्गमा डोर्याउने प्रेरणा मिलोस ! शुभकामना !