कतार विश्वकप २०२२

अस्ट्रेलियासँग खेल्दा अर्जेन्टिनालाई एसियाली प्रतिद्धन्द्धीको मानसिक दबाब

काठमाडौं । विश्वकप उपाधि दाबेदारको हैसियतसाथ कतार भ्रमणमा निस्किएको अर्जेन्टिनाले पहिलो खेलमै स्तब्धतापूर्ण नतिजा सामना गर्नुपर्यो । पहिलो खेलमा अर्जेन्टिनालाई एसियाली टोली साउदी अरेबियाले नसोचेको हार चखाएको थियो ।

पहिलो खेलको स्तब्धतापूर्ण नतिजाको चोटमा मल्हम लगाउने क्रममा त्यसपछिका बाँकी दुई खेलमा मेक्सिको र पोल्यान्डमाथि जित हासिल गर्दै अर्जेन्टिनाले विश्वकपको यात्रालाई ट्रयाकमा फर्काएको थियो । तर दुई पटकको पूर्व च्याम्पियनले नकआउट चरणमा पनि एसियाली टोलीकै चुनौती सामना गर्नुपर्ने भएको छ । जहाँ लियोनेल मेसीको टोलीलाई अर्को एसियाली टोलीसँग खेल्नुपर्ने कुराले मानसिक दबाब हुन सक्छ ।

उसै पनि अस्ट्रेलिया आफैमा अन्तर्राष्ट्रिय फुटबलमा एउटा बलियो टोली हो । अस्ट्रेलिया पनि समूह चरणको पहिलो खेलमा साविक विजेता फ्रान्ससँग पराजित भएको थियो । तर त्यसपछि उत्कृष्ट पुनरागमन जनाउने क्रममा अस्ट्रेलियाले दुवै खेल जितेको थियो । दोस्रो खेलमा ट्युनिसियालाई हराएको टोलीले समूह चरणको अन्तिम खेलमा डेनमार्कमाथि सनसनीपूर्ण जित हासिल गर्दै नकआउट चरण प्रवेश गर्न सफल भएको थियो । समान ६ अंक जोडेका दुई टोलीबीच गोलअन्तरमा मात्र फ्रान्ससँग पछि परेर अस्ट्रेलिया समूहको उपविजेता भएको थियो ।

अस्ट्रेलियाका लागि जारी विश्वकपमा प्रेरणाको स्रोत नै उसको आफ्नै यात्रा हो । टोली समूह चरणकै पछिल्ला खेलमा पाएका जितको लयलाई निरन्तरता दिन चाहन्छ । फ्रान्ससँग अंक बराबरी गर्न सकेका कारण अस्ट्रेलिया उच्च मनोबल लिएर एहमद बिन अली रंगशालामा आज अर्जेन्टिनाविरुद्ध मैदान उत्रिनेछ ।

उपाधिको प्रबल दावेदार मानिएको अर्जेन्टिना फिफा विश्व वरियताक्रमको तेस्रो स्थानमा छ । ६ पटकका बालन डी अर विजेता सुपरस्टार मेसीको उपस्थितिका कारण पनि आज राति १२ः४५ मा हुने खेलबाट क्वार्टरफाइनल पुग्नेमा अर्जेन्टिना प्रष्ट दाबेदार हो । तर यहाँसम्म पुग्ने क्रममा समूह चरणमै साउदीसँग भोगेको हारले भने टोलीलाई झस्काइरहने छ ।

उता विश्वकपको नकआउट चरणसम्मको यात्रा गर्दा भोगेका सबै हन्डर अस्ट्रेलियाको जानकारीमा ताजा छ । त्यसैले पनि यो खेललाई सजिलै लिन नमिल्ने पण्डितहरु अनुमान गर्छन । अस्ट्रेलियाले विश्वकप छनोटमा २० खेल खेल्दा १६ खेल घरबाट बाहिर खेल्नु परेको थियो । प्रशिक्षक ग्राहम आर्नोल्डको नेतृत्वमा रहेको अस्ट्रेलियाका लागि अर्जेन्टिनाविरुद्ध प्रेरणाको स्रोत यही नै हुनुपर्छ ।

कप्तान म्याट रायनको नेतृत्व पनि अस्ट्रेलियाका लागि अर्जेन्टिनाविरुद्ध प्रेरणादायी हुने अपेक्षा गरिएको छ । त्यसैगरि फर्वार्डद्वय म्याथ्यु लेकी र मिचेल ड्युकको खेल पनि महत्वपूर्ण रहनेछ ।

साउदीसँगको त्यो नमिठो अर्जेन्टिनाले विर्सन सकेको छैन । त्यसैले दक्षिण अमेरिकी महारथी अस्ट्रेलियाविरुद्ध  सतर्क रहनेछ । यसको मतलब अस्ट्रेलियाले पनि आजको खेललाई थप सतर्कताका साथ लिनु आवश्यक हुन्छ ।

नकआउट चरणमा दोस्रो मौका नपाइने भएकाले पाएका अवसर उपयोग नगर्ने हो भने कुनै पनि टिमसँग हारको विकल्प हुँदैन । कप्तान लियोनेल मेसीले पछिल्लो खेलमा पेनाल्टीको मौका खेर फालेका थिए । तर दोस्रो हाफमा दुई गोल गरेपछि बल्ल नकआउट चरणको ढोका खुलेको हो । अस्ट्रेलियाविरुद्ध अर्जेन्टिनाले पाएको मौका सदुपयोग गर्न आवश्यक छ ।

पोल्यान्डविरुद्धको ‘गर या मर’ को खेलमा प्रशिक्षक लियोनेल स्कोलानीले मिडफिल्डर एलेक्सिस म्याक एलिस्टर र स्ट्राइकर जुलियन आल्भारेजलाई पहिलो पटक सुरुवाती एघारमा खेलाएका थिए । दुबैले पाएको अवसरमा गोल गरे । फलस्वरुप पछिल्ला १२ संस्करणमध्ये दुई पटक उपाधि जितेको अर्जेन्टिनाले ११औं पटक नकआउट चरणमा स्थान पक्का गर्यो । त्यसैले पनि पछिल्लो खेलझैँ थकानको चिन्ता रहेमा प्रशिक्षक स्कोलानीले वैकल्पिक खेलाडीको प्रयोग राम्ररी गर्न आवश्यक छ । यसले मेसीको रचनात्मक बोझ कम गर्नेछ ।

अर्जेन्टिनाका लागि अपरिवर्तनीय प्लेमेकर मेसी पक्कै पनि अभिन्न हुनेछन् । नेदरल्यान्ड्स अथवा अमेरिकासँग क्वार्टरफाइनल भेट पक्क गर्ने हो भने मेसीलाई सबैको साथ आवश्यक छ, जसको प्रेरणामा अर्जेन्टिनाले साउदीसँग पराजित हुनुअघि ३६ खेलको अपराजित यात्रा गरेको थियो ।

समग्रमा अस्ट्रेलियाले दक्षिण अमेरिकी टिमसँग अघिल्ला सात भेटमा एकमा मात्र विजय हासिल गरेको छ । त्यो सफलता १९८८ मा प्राप्त भएको थियो, जब यी दुई टोलीले पहिलो पटक एकआपसमा भिडेका थिए । पछिल्लो भेट २००७ मा भएको थियो । मैत्रीपूर्ण खेलमा अर्जेन्टिना १-० ले विजयी भएको थियो ।

अस्ट्रेलियाका प्रशिक्षक आर्नोल्ड २००६ को सुनौलो पुस्ताभन्दा एक कदम अगाडि बढ्ने दाउमा हुनेछन् । २००६ जर्मनी विश्वकपमा अस्ट्रेलियाले अन्तिम १६ सम्म खेलेको थियो । स्कोलानीको अर्जेन्टिनासँग भने तेस्रो पटक उपाधि जित्नुवाहेकको कुनै पनि नतिजामा सन्तुष्टि लिने ठाउँ छैन ।