कप्तान रोहितको शतकप्रेरित नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपाले ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको छ  ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार वेस्ट इन्डिजले प्रस्तुत गरेको २०५ रनको लक्ष्य नेपालले दुई बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि रोहितले ११२, दीपेन्द्रसिंह ऐरीले २४ तथा कुशल मल्ल र कुशल भुर्तेलले समान १६ रन बनाए ।

चौथो विकेटका लागि रोहित र दीपेन्द्रले ६४ रनको साझेदारी गरे ।  वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्ड र ओबेड म्याककोयले समान दुई तथा किमो पउलले एक विकेट लिए ।

तेस्रो ओभरको पहिलो बलमा अनिल साहलाई म्याथ्यु फोर्डले कदीम अलेइनेबाट क्याच गराए । अनिलले नौ बलमा पाँच रन बनाए ।

पाँचौं ओभरको पहिलो बलमा कुशल भुर्तेल १६ रन बनाएर आउट भए । १२ बलमा तीन चौका प्रहार गरेका कुशललाई ओवेड म्याकोयले विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच गराए ।

नेपालले तेस्रो विकेटका रूपमा कुशल मल्ललाई १६ रनमा गुमायो । कुशललाई १०औं ओभरको अन्तिम बलमा जोन्सन चार्र्सले रन आउट गरे । कुशलले १५ बलमा समान एक चौका र छक्का प्रहार गरे ।

१६औं ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरी २४ रन बनाएर पेभिलियन फर्किए । १८ बलमा दुई चौका र एक छक्का प्रहार गरेका दीपेन्द्रलाई किमो पउलले रोस्टन चेजबाट क्याच गराए ।

१८औं ओभरको पाँचौं बलमा विवेक यादव सात रन बनाएर म्याककोयबाट बोल्ड भए । १९औं ओभरमा अन्तिम बलमा शतक प्रहार गरेका रोहितलाई फोर्डले फ्लेचरबाट क्याच गराए । रोहितले ५४ बलमा १० चौका र छक्काको मद्दतले ११२ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०४ रनको योगफल तयार पार्यो ।

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४  रनको योगदान बनाउँदा ओपनर एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै पाँचौं नम्बरका ब्याटर केसी कार्टीले ३८ रन जोड्दा कदीम अलेइनेले १४ र आन्द्रे फ्लेचरले १३ रनको योगदान गरे ।

नेपालका लागि कमलसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल र अभिनास बोहोरा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

२०औं ओभरको तेस्रो बलमा चेजलाई दीपेन्द्रले पेभिलियनको बाटो देखाएका थिए । कुशल मल्लबाट क्याच हुनुअघि चेजले ४६ बलमा नौ चौक्का र दुई छक्काको मद्धतमा ७४ रन बनाए ।

कमल ले पहिलो ओभरको अन्तिम बलमा ओपनर जोन्सन चार्ल्सको विकेट लिएका थिए । चार्ल्स खाता नै खोल्न नपाई कमलको बलमा क्लिन बोल्ड भएका थिए ।

चौंथो ओभरको तेस्रो ओभरमा फ्लेचरलाई रन आउटको शिकार बनाउँदा नेपालले दोस्रो सफलता हासिल गर्यो । दीपेन्द्र सिंहको बलमा फ्लेचरलाई कप्तान रोहितले रन आउट गरेका थिए ।

सातौं ओभरको पाँचौं बलमा एलिक अथानजेको विकेट लिँदै रोहितले नेपाललाई तेस्रो सफलता दिलाए । ओपनर अथानाजे रोहितको बलमा ललित राजवंशीबाट क्याच हुन पुगे । जतिबेला वेस्ट इन्डिजले ८७ रन बनाएको थियो । अर्धशतक बनाउन मात्र तीन रनबाट चुकेका अथानजेले २५ बलमा पाँच चौक्का र ६ छक्का प्रहार गरेको थिए ।

तेस्रो विकेट गएपछि वेस्ट इन्डिजका लागि चेज र अथानाजेले ६० रनको साझेदारी गरे । तर, अभिनास बोहोराले १५औं ओभरको दोस्रो बलमा केसी कार्टीको विकेट लिँदै नेपाललाई ब्रेक थ्रु दिलाए । दीपेन्द्रबाट क्याच  हुनुअघि कार्टीले २६ बलमा दुई चौक्का र तीन छक्काको मद्धतमा ३८ रनको पारी खेले । 


यही जुन २ बाट सुरु हुने आइसिसी ट्वान्टी-२० विश्वकपको तयारीस्वरुप नेपालले इन्डिजविरुद्ध शृंखला खेलिरहेको छ । पाँच खेलको शृँखलामा नेपालले दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौंथो खेल बिहीबार र अन्तिम खेल शनिबार खेल्नेछ ।