इन्डियन प्रिमियर लिग

हेड र अभिषेक चम्किदा हैदराबादले लखउनलाई १० विकेटले हरायो

काठमाडौं । लखनउ सुपर जायन्ट्सलाई १० विकेटले हराउँदै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सातौँ जित निकालेको छ ।

बुधबार राति ओपनर अभिषेक शर्मा र ट्राभिस हेडले सानदार एक सय ६७ रनको साझेदारी गरेपछि हैदराबादले सहज जित निकालेको हो ।

जितपछि हैदराबाद १२ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा उक्लिएको  छ । उसको प्लेअफ सम्भावना बलियो बन्यो । लखनउ १२ अंकसहित छैटौँ स्थानमा छ । समान १६ अंक भएपनि कोलकत्ता शीर्ष स्थान र राजस्थान दोस्रो स्थानमा छन् ।

आइपिएलको ५७औं खेलमा पहिला ब्याटिङ गर्दै लखनउले चार विकेट गुमाएर एक सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । हैदराबादले ९.४ ओभरमै जित निकालेको हो ।

अभिषेकले २८ बलमा ७५ रन बनाए । उनले ८ चौका र ६ छक्का प्रहार गरेका थिए । हेडले ३० बलमा समान आठ चौका र छक्कासहित ८९ रन बनाएका हुन् ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको लखनउको लागि आयुष बादोनीले ५५, निकोलास पुरनले ४८, केएल राहुलले २९ र क्रुनाल पांड्याले २४ रन बनाएका हुन् । भुवनेश्वर कुमारले दुई विकेट हात पारेका थिए ।