नेत्रहिन क्रिकेट विश्वकप

नेत्रहिन विश्वकपलाई नेपाली टोली आइतबार भारत जाने

काठमाडौं । तेस्रो नेत्रहीन ट्वान्टी २० क्रिेकट विश्वकपमा नेपालले सहभागिता जनाउने भएको छ । डिसेम्बर ५ देखि १८ तारिखसम्म भारतमा हुने प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार त्यसतर्फ जाने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

भारतको नयाँ दिल्ली र बेङ्लोरमा हुने प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय नेत्रहिन क्रिकेट टोलीलाई शनिबार राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समिति सदस्य नन्दा बस्यालले विदाई गरिन ।

खिमानन्द गैरेको कप्तानीमा रहेको टोलीमा सागर लामा, भरत चौलागाईं, राधेश्याम चौधरी, हेमबहादुर खत्री, टमबहादुर पाल, शान्तबहादुर पहरी, सुनिल राना, प्रेम क्षेत्री, युवराज भण्डारी, खेमराज सापकोटा, सुरेन्द्र तामाङ, नरेश चौधरी, सागर चेपाङ र शंकर रेग्मी छन् ।

टिम प्रशिक्षकको हैसियतमा नहेन्द्र निरौला, व्यवस्थापकका रुपमा तुम्रु उप्रेती तथा अफिसियलको भूमिकामा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे, महासचिव अमृत बराल र कोषाध्यक्ष उपेन्द्र श्रेष्ठ पनि टिमसँगै भारत जाने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रतियोगितामा नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणमा सबै सहभागीले एक-अर्काविरुद्ध प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनल पुग्ने छन् ।

डिसेम्बर ६ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने नेपाली टोलीले त्यसको भोलीपल्ट बंगलादेशसँग दोस्रो खेल खेल्नेछ । यसैगरी डिसेम्बर ९ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने नेपालले चौथो खेल डिसेम्बर १० मा दक्षिण अफ्रिकासँग खेल्नेछ । पाँचौं खेलमा श्रीलंकासँग डिसेरमबर १३ तथा त्यसको भोलीपल्ट पाकिस्तानसँग खेलेपछि नेपालको समूह चरण यात्रा सम्पन्न हुनेछ ।