सहिद स्मारक ‘बी’ डिभिजन लिग

मध्यपुरमाथिको कार्वाही फिर्ता, ‘बी’ डिभिजन लिग यो वर्ष पनि नहुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले ‘बी’ डिभिजनको क्लब मध्यपुर युथ एसोसिएसनमाथि गरेको अनुशासनको कार्वाही निस्कृय रहेको भन्दै फिर्ता लिएको छ ।

एन्फाविरुद्ध अदालतमा मुद्दा हालेको कारण देखाउँदै एन्फाले मध्यपुरलाई फुटबलसम्बन्धि गतिविधि गर्न नपाउने गरि कार्वाही गरेको थियो । फुटबलका कुनै पनि विषय अदालतमा लान नपाइने भन्दै एन्फाले मध्यपुरमाथि कार्वाहीको निर्णय गरेको हो । मध्यपुरका एक पदाधिकारीले कार्यसमितिका सदस्यहरुबाट आएको एजेन्डा बैठकमा समावेश नगरेको भन्दै एन्फामाथि अदालतमा मुद्धा हालेका थिए ।

कार्वाहीको निर्णय गरे पनि एन्फाले मध्यपुरलाई पत्र लेखेर त्यसको औपचारिक जानकारी गराएको थिएन ।

‘बी’ डिभिजनका १४ मध्ये १३ क्लबले मध्यपुरविरुद्धको कार्वाहीको निर्णय फिर्ता नलिएसम्म एन्फाका कुनै पनि कार्यक्रममा सहभागिता नजनाउने अडान लिएपछि नेपाली फुटबलको नियामक निकाय घुँडा टेक्न बाध्य भएको हो ।

एन्फाले अघिल्लो वर्ष पटकपटक मिति तोकेर पनि ‘बी’ डिभिजन लिग गर्न सकेको थिएन । एन्फाले पछिल्लो पटक गएको चैत २२ बाट ‘बी’ डिभिजन लिग गर्ने घोषणा गरेको थियो । तर क्लबहरुले बैठक बस्नका लागि समेत पाउनुपर्ने बक्यौता रकम तत्काल दिनुपर्ने, गत वर्ष लिगको मिति तोकेपछि आफूहरुले टिम तयारी गरेको तर एन्फाले लिग नगराउँदा भएको घाटाको क्षतिपूर्ति दिनुपर्ने र मध्यपुरविरुद्धको कार्वाही फिर्तालाई बटमलाइन बनाएपछि तोकिएको मितिमा हुन नसकेको लिगको नयाँ तिथि तय हुन सकेको छैन ।

एन्फाका महासचिव किरण राईले बिहीबार ‘बी’ डिभिजनका क्लबहरुलाई पत्र लेख्दै ‘अदालतमा परेका मुद्दाहरुको औचित्य नदेखिएकोले सम्बन्धित क्लबप्रति संघबाट भएको अनुशासन कार्वाही सम्बन्धि निर्णय स्वतह निस्कृय भएको र उक्त निर्णय हाल कार्यान्वयन नहुने’ जानकारी गराएका छन् ।

महासचिव राईले बिहीबार लेखेको उक्त पत्रमार्फत दुई वर्षदेखि रोकिएको ‘बी’ डिभिजन लिग यो वर्ष पनि नहुने जनाएका छन् ।

पत्रमा महासचिव राईले क्लबहरुलाई यही बैशाख २५ गते बैठक बस्न आह्वान गर्दै लेखेका छन्, ‘साथै आगामी वर्ष हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग आयोजना र सञ्चालनका लागि छलफल गर्नुपर्ने भएकोले यहाँको क्लबका अध्यक्ष र महासचिवज्यूको उपस्थितिका लागि अनुरोध गर्दछु ।’