ट्वान्टी २० शृंखला

वेस्ट इन्डिज ‘ए’ लाई नेपालविरुद्धको शृंखला

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्धको ट्वान्टी २० शृंखला आफ्नो पक्षमा पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा २८ रनको जित निकाल्यो ।

जितसँगै वेस्ट इन्डिज पाँच खेलको शृंखलामा ३-१ ले अगाडि बढेको छ । यसअघि नेपाल चार विकेट तथा वेस्ट इन्डिज १० र ७६ रनले विजयी भएका थिए ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८२, गुल्सन झा, सन्दीप जोरा र दीपेन्द्रसिंह ऐरीले समान १९ रन तथा अभिनाश बोहराले अविजित १७ रन बनाए ।

वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्ड र हाइडेन वाल्सले समान तीन तथा फाबियन एलन र गुडाकेश मोतीले समान दुई विकेट लिए ।

पहिलो ओभरको दोस्रो बलमा म्याथ्यु फोर्डले ओपनर आसिफ शेखलाई रनको खाता पनि खोल्न नपाई बोल्ड गरे ।

नेपालले पाँचौ ओभरमा दुई कुशललाई गुमायो । ओपनर कुशल भुर्तेललाई पाँचौं ओभरको पहिलो बलमा फाबियन एलनले बोल्ड गरे । उनी एक रनमा पेभेलियन फर्किए । सोही ओभरको पाँचौ बलमा कुशल मल्ललाई चार रनमा रोस्टन चेजबाट क्याच गराए ।

१३औं ओभरको दोस्रो बलमा सन्दीप जोरालाई हाइडेन वाल्सले केसी कार्टीबाट क्याच गराए । सन्दीपले १९ रन बनाए । 

१४औं ओभरको तेस्रो बलमा रोहितकुमार पौडेल पेभेलियन फर्किए । ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतले ८२ रन बनाएका रोहितलाई वाल्सले म्याथ्यु फोर्डबाट क्याच गराए ।

१७औं ओभरको दोस्रो बलमा फोर्डले दीपेन्द्रसिंह ऐरीलाई १९ रनमा जोनसन चार्ल्सबाट क्याच गराए ।

सोही ओभरको अन्तिम बलमा फोर्डले गुल्सन झालाई एलिक एथानाजबाट क्याच गराए । गुल्सनले पनि १९ रन बनाए ।

प्रतिश जिसी १८औं ओभरको दोस्रो बलमा पेभेलियन फर्किए । उनलाई रनको खाता पनि खोल्न नदिइ वाल्सले गुडाकेश मोतीबाट क्याच गराए ।  
२० औं ओभरको अन्तिम बलमा सोमपाल कामी १० रन बनाएर आउट भए । उनलाई गुडाकेश मोतीले जोसुवा बिसोपबाट क्याच गराए ।

अन्तिम बलमा मोतीले ललितनाराण राजवंशीलाई विकेटकिपर आन्द्रे फ्लेचरबाट स्ट्याम्पिङ गराए । 
त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०९ रनको योगफल तयार पार्यो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ५४ बलमा नौ चौका र चार छक्काको मद्दले अविजित ८४ रन बनाए । यसैगरी जोनसन चार्ल्सले अर्धशतक प्रहार गर्दा फाबियन एलन ३३ रनमा अविजित रहे ।

फ्लेचरले दोस्रो विकेटका लागि चार्ल्ससँग ९२ र चौथो विकेटका लागि एनलसँग ८३ रनको साझेदारी गरे ।

नेपालका लागि कुशल भुर्लेलले दुई र प्रतिश जिसीले एक विकेट लिए ।

प्रतिशले दोस्रो ओभरको पहिलो बलमा एलिक एथानाजलाई सन्दिप जोराबाट क्याच गराए । उनले पाँच रन बनाए ।

अर्धशतक बनाएका जोनसन चार्ल्सलाई १०औं ओभरको अन्तिम बलमा कुशलले दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । चार्ल्सले ३० बलमा ६ छक्का र तीन चौकाको मद्दतले ५८ रन बनाए ।

१४औं ओभरको दोस्रो बलमा चार रन बनाएर खेलिरहेका  केसी कार्टीलाई कुशलले रोहितबाट क्याच गराए ।

शृंखलाको पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।