काठमाडौं । उच्च अदालत पाटनले सिन्धुली जिल्ला फुबटल संघलाई दुधौली स्पोर्टस क्लबमाथि भएको कारवाहीको कारण खुलाउन आदेश दिएको छ ।
उच्च अदालत पाटनले जेठ १ गते यस्तो आदेश दिएको हो । जिल्ला संघ र पदाधिकारीको विरोध गर्दै फेसबुकमा स्ट्याटस लेखेको विषयलाई लिएर जिल्ला संघले दुधौली स्पोर्टस क्लबमाथि प्रतिबन्ध लगाएको थियो ।
‘निवेदकको निवेदन माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? जारी हुन नपर्ने आधार, कारण र प्रमाण भए सबूद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र आफै वा कानून वमोजिमको प्रतिनिधी मार्फत लिखित जवाफ पेश गर्नुहोला भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीका नाममा म्याद सूचना जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नु,’ आदेश पत्रमा भनिएको छ, ‘साथै निवेदकले अन्तरिम आदेश समेत माग गरेको पाइयो । निवेदन पत्रमा उल्लेख भएका विषयवस्तुलाई दृष्टिगत गर्दा विपक्षीहरु समेतको उपस्थितिमा सुनुवाई गरी अन्तरिम आदेश सम्वन्धमा टुङ्गोमा पुग्न बान्छनीय हुने हुदा सो प्रयोजनको लागि मिति २०८१÷२÷८ गते मंलबारको दिन छलफल पेशी राखी नियमानुसार पेश गर्नु ।’
दुई वर्ष आगाडि सामाजिक सञ्जालमा पोस्ट गरेको स्ट्याटसको आधारमा सिन्धुली जिल्ला फुटबल संघको २०८० चैत २० गते बसेको कार्य समितिको बैठकले दुधौली स्पोर्टस क्लबलाई कुनै पनि फुटबलका गतिविधिमा लाग्न नपाउने गरि पाँच वर्षको प्रतिवन्ध लगाएको थियो ।
तर संघले एकमहिला पछि अर्थात बैशाख २०मा मात्र आधिकारीका रूपमा क्लबलाई उक्त कुराको जानकारी गराएको थियो ।
उक्त निर्णयविरुद्ध क्लबले उच्च अदालत पाटनमा उजुरी दर्ता गराएको थियो ।
पहिलो पटक २०७९ बैशाख ९ गते सिन्धुली माडीमा भएको निर्वाचनमा अध्यक्ष पदका दुई उम्मेदवारको मत बराबरी भएपछि स्थगित गरिएको निर्वाचनका लागि बैशाख १८ को अर्को मिति तोकिएको थियो ।
दोस्रो पटक तोकिएको मितिमा पनि चुनाव हुन नसकेपछि सिन्धुलीको निर्वाचनका लागि एन्फाले बैशाख २२ गते सबै मताधिकारप्राप्त क्लबका प्रतिनिधि र उम्मेदवारहरुलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै बोलाएको थियो । तर त्यस दिन पनि प्राविधिक कारणवश हुन नसकेको भन्दै एन्फाले सिन्धुली जिल्ला फुटबल संघको चुनाव स्थगित गरेको थियो ।
त्यही विषयमा नेतृत्वविरुद्ध फेसबुकमा स्ट्याटस लेखेको कारण दुधौलीमाथि कारवाही गरिएको थियो । दुधौली स्पोर्टस क्लबका व्यवस्थापक राजेन्द्र महतो आफूहरु राजनितिक चपेटामा परेको बताउँछन् ।
‘दुई वर्ष अघि जिल्ला संघको जिल्ला संघ र पदाधिकारीको विरोध गर्दै हामीले समाजिक सञ्जालमा आफ्नो धारणा राखेका थियौं । अहिले जिल्ला लिगको मुखैमा आएर त्यसैलाई आधार बनाउँदै कारवाही गरिएको छ । यो सबै भोटको खेल हो । उनीहरु शक्तिको आडमा हामीमाथि अन्याय गरिरहेका छन् । यसमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई र उपाध्यक्ष दावा लामाको प्रमुख भुमिका छ,’ महतोले भने, ‘एन्फामा नेम्वाङ आएपछि उनीहरुले जवरजस्ती जिल्ला संघ गठन गरे । हामीले त्यसको पनि विरोध गरेका थियौं । अहिले त्यसैको रिस पोख्दै छन् जस्तो लाग्छ ।’
महतो आफूमाथिको कारवाही एन्फा विधान विपरित भएको बताउँछन् ।
अवैधानिक जिल्ला संघले हामीमाथि लगाएको प्रतिवन्ध पनि एन्फा विधान विपरित छ । एन्फाको विधानअनुसार कसैमाथि कारवाही गर्न पहिला कार्यसमितिमा छलफल गरेर सधारणसभाले पारित गरेपछि मात्र निर्णय हुन्छ,’ महतोले भने, ‘तर उनीहरुले कुनै प्रकिया नै पूरा नगरी सिधै कारवाही गरेका छन् । यो सरासर गलत हो ।’