विराटनगर । सुदूरपश्चिम प्रदेशले नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा बिहीबार सुदूरपश्चिमले गण्डकी प्रदेशविरुद्ध पाँच विकेटको जित निकाल्यो ।
जितसँगै सुदूरपश्चिमले तीन खेलमा चार अंक जोडेको छ । पराजित गण्डकीको पनि चार खेलबाट समान अंक छ ।
गण्डीले प्रस्तुत गरेको १०३ रनको लक्ष्य सुदूरपश्चिमले २६ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमका लागि आशिष लुहारले ३९, युवराज खत्रीले अविजित २७ र नरेन साउदले अविजित २० रन बनाए ।
गण्डकीका लागि अपराजित पौडेलले तीन तथा किरण भट्टराई र सिब्रिन श्रेष्ठले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले ३६.५ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो । गण्डकीका लागि कप्तान अर्जुन कुमालले ३५ र सिब्रिन श्रेष्ठले २५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि सचिन भट्टले ८.५ ओभरमा तीन मेडनसहित मात्र १३ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी कप्तान हेमन्त धामी र युवराज खत्रीले समान दुई विकेट हात पारे ।