काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले दोस्रो विदेशी खेलाडीका रूपमा हङकङका ब्याटर बाबर हायतलाई अनुबन्ध गरेको छ ।
हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीले सामाजिक सञ्जालमार्फत ३२ वर्षीय हायतलाई अनुबन्ध गरेको जानकारी दियो ।
हायतले हङकङका लागि ७९ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र १० अर्धशतकसहित १ हजार ९१० रन प्रहार गरेका छन् ।
टोलीले यसअघि पाकिस्तानका अलराउन्डर मोहम्मद हुसेन तलातलाई भित्र्याएको थियो ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा कर्णालीसँगै सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।