काठमाडौं । इण्डियन प्रिमियर लिग(आइपिएल) २०२६ आफ्नो पहिलो खेलमा गुजरात टाइटन्सलाई हराँउदै पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ ।
घरेलु मैदान न्यु चण्डिगढमा मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरातमाथि ३ विकेटको जित हासिल गरेको हो । १६३ रनको लक्ष्य पञ्जाबले १९ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
पञ्जाबका लागि यसै खेलमा आइपिएल डेब्यु गरेका अस्ट्रेलियाका कुपर कोलनीले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ खेल्दै अविजित रहे । उनले ४४ बलमा ५ चौका र ५ छक्का प्रहार गरे । प्रशिमरन सिंह २४ बलमा १ चौका र ४ छक्का सहित ३७ रनमा आउट भए । कप्तान श्रेयश अय्यर ११ बलमा १८ रनमा आउट हुँदा जेभियर ब्राट्ली ११ रनमा अविजित रहे ।
गुजरातका लागि प्रसिद्ध कृष्णा ३ तथा रशिद खान, अशोक शर्मा, कागिसो रबडा र वासिङ्टन सुन्दरको नाममा समान १ विकेट रह्यो । त्यसअघि टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६२ रनको योगफल तयार गरेको थियो ।
गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ३९ रन बनाउदै आउट भए । उनले २७ बलको सामना गरेर ६ चौका प्रहार गरे । जस बटलर ३३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३८ रनमा आउट भए । ग्लेन फिलिप्स १७ बलमा २५, वासिङ्टन सुन्दर १८ र ओपनर साई सुदर्सन १३ रनमा आउट भए ।
पञ्जाबका लागि विजय कुमार बैशकले ३ तथा युजभेन्द्र चहलले २ विकेट लिए । मार्को यानसनले १ विकेट आफ्नो नाममा गराए । पहिलो खेलमा जित हासिल गरेको पञ्जाब २ अंकका साथ चौथो स्थानमा छ । पराजित गुजरात पहिलो खेल पछि अंकबिहिन रहेको छ ।
