काठमाडौं । नेपाल प्रियिमर लिगको फ्रेन्चाइज टोली चितवन राइनोजले दोस्रो विदेशी खेलाडीका रूपमा अफगानिस्तानका ब्याटर हसन इसाखिललाई अनुबन्ध गरेको छ ।
चितवनले सामाजिक सञ्जालमार्फत १८ वर्षीय इसाखिललाई अनुबन्ध गरेको जानकारी दियो । उमेर समूहमा अफगानिस्तानको प्रतिनिधित्व गरिसकेका इसाखिलले सिनियर टोलीका लागि भने खेल्न पाएका छैनन् ।
इसाखिलले १६ ट्वान्टी-२० खेलमा तीन अर्धशतकसहित ४२६ रन बनाएका छन् ।
चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको टोलीले यसअघि दक्षिण अफ्रिकाका मर्चेन्ट डी लाङ्ग र इङ्ल्यान्डका अलराउन्डर ल्युक मार्टिन बेनकेन्स्टाइनलाई भित्र्याएको थियो ।
चितवनको मार्की खेलाडी राष्ट्रिय टोलीका अलराउन्ड कुशल मल्ल छन् । टोलीले राष्ट्रिय टोलीका पुर्व प्रशिक्षक उमेश पटवाललाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा चितवनसहित जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।