काठमाडौं । दुई दशकअघि फुटबलमा पाइला सुरु गर्दै गर्दा ओइतोङबाम आशालता देवीले सायदै सोचेकी थिइन्, ‘कुनै दिन देशका लागि खेलिन्छ । खेल्नेमात्र होइन, देशकै सबैभन्दा सफल खेलाडी बनिन्छ अनि ऐतिहासिक एक सय अन्तर्राष्ट्रिय खेल पूरा गरिन्छ ।’
‘रमाइलोका लागि फुटबल सुरु गरेको थिएँ । मैले कहिल्यै पनि १०० वा २०० भनेर अन्तर्राष्ट्रिय पूरा गर्छु भनेर खेलेको होइन । मलाई कहिल्यै पनि लागेन, म देशका लागि यति धेरै खेल खेल्छु भनेर,’ आशालताले सुनाइन् ।
भारतीय कप्तान आशालताले बिहीबार मात्र आफ्नो १००औं अन्तर्राष्ट्रिय क्याप जितिन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपअन्तर्गत समूह चरणको पहिलो खेलमा पाकिस्तानविरुद्ध टोलीको नेतृत्व सम्हालेकी आशालताले राष्ट्रिय टोलीको जर्सीमा ऐतिहासिक खेल खेलिन् । दक्षिण एसियाली फुटबलमा यो एउटा दुर्लभ उपलब्धि हो । याे क्षेत्रबाट अन्तर्राष्ट्रिय खेलको ‘शतक’ पूरा गर्ने उनी एक्ला महिला खेलाडी हुन् ।
रक्षक आशालताले सन २०११ मा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी थिइन् । यसबीच १३ वर्षको सिनियर करिअरमा उनले भारतबाट धेरै उपाधि जितिन् । दक्षिण एसियामा त उनी सम्भवतः सबैभन्दा सफल खेलाडी हुन् ।
सानै छँदा विद्यालयमा केटाहरूले फुटबल खेलिरहँदा आशालता डाहा गर्थे । इम्फाल, मणिपुरकी आशालताले देखासिकीमै फुटबल मन पराइन् र खेलिन् । केटीहरूले फुटबल खेल्नुहुन्न भन्ने समाजलाई उछिन्दै अगाडि बढेकी आशालता अहिले दक्षिण एसियाकै प्रेरणाकी स्रोत बनेकी छन् । १३ वर्षको उमेरबाट फुटबल सुरु गरेकी उनले दुई वर्षमै देशको प्रतिनिधित्व गर्ने मौका प्राप्त गरेकी थिइन् । २००८ मा पहिलो पटक यु-१७ राष्ट्रिय टोलीमा छनोट भएपछि खुसीको आँसु बगाएकी आशालता बिहीबार भने भावुक देखिइन् । यो १६ वर्षको अन्तरालमा उनले आफूलाई नियन्त्रणमा राख्न भने जानेकी रहेछिन् ।
खेलपछि सय खेलको कोसेढुङ्गो पार गरेकी आशालताले भनिन्, ‘म धेरै खुसी छु । मैले आजको दिनका लागि धेरै मिहिनेत गरेको छु । यो मेरो मिहिनेतको प्रतिफल हो । म यसको लागि अफिसियल, सहकर्मी र मलाई माया गर्ने सम्पूर्णलाई धन्यबाद दिन चाहन्छु ।’
रक्षक आशालताले सन २०११ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी थिइन् । यसबीच १३ वर्षको सिनियर करियरमा उनले भारतबाट धेरै उपाधि जितिन् । दक्षिण एसियामा त उनी सम्भवतः सबैभन्दा सफल खेलाडी हुन् । उनले २ पटक दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण र ४ पटक साफको उपाधि जितिसकेकी छन् । व्यावसायिक फुटबलमा पनि उनले ३ पटक त घरेलु लिग, इन्डियन वुमन्स लिग (आइडब्लुएल)को उपाधि नै जितिसकेकी छन् । हाल इस्ट बेङ्लाेरबाट खेलिरहेकी आशालता अहिले ३१ वर्षकी भइन् । आफ्नो फुटबल करियरमा उनले उपाधिसँगै धेरै कुरा सिकिन्, बुझिन् । तर, करियरको यो मोडमा पनि उनले अझै सिक्न बाँकी रहेको कुरा रहेछ ।
पत्रकार सम्मेलनमा आशालताले आफूले सिकेको पाठबारे बताइन्, ‘भारतका लागि सय खेल खेलिरहँदा मेरो मनमा धेरै उत्साह थियो । सायद चाहिनेभन्दा धेरै । जसका कारण मैले विपक्षीलाई पेनाल्टी दिएँ । आज मैले धेरै खुसी हुनु पनि राम्रो होइन भन्ने पाठ सिकें ।’
सय खेलको कोसेढुङ्गो पार गरिरहँदा आशा एकहिसाबले उत्साहित थिइन् । सायद पाकिस्तानविरुद्ध उनको मनमा के कुरा खेलिरहेको थियो, उनले जानी नजानी विपक्षी फरवार्डलाई लडाइन् र पाकिस्तानले पेनाल्टी प्राप्त गरेको थियो । जुन पेनाल्टी गोलमा परिणत भयो । उनको गल्तीमा पाकिस्तानले साफ इतिहासमै पहिलो पटक भारतको पोस्टमा गोल गरेको थियो । रोमाञ्चक खेलमा भारतले अन्ततः ५-२ को जित हासिल गर्यो । चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध यो प्रतियोगितामा भारतको यो लगातार तेस्रो जित हो ।
पत्रकार सम्मेलनमा आशालताले आफूले सिकेको पाठबारे बताइन्, ‘भारतका लागि सय खेल खेलिरहँदा मेरो मनमा धेरै उत्साह थियो । सायद चाहिनेभन्दा धेरै । जसका कारण मैले विपक्षीलाई पेनाल्टी दिएँ । आज मैले धेरै खुसी हुनु पनि राम्रो होइन भन्ने पाठ सिकें ।’
यसमा आशालताको कुनै पनि गल्ती छैन । उनी अति उत्साहित नहुनुपर्ने कारण पनि त छैन । उनको यो सफलता कुनै पनि खेलाडीको सपना हो । दक्षिण एसियाली महिला फुटबलमा त झन् यो उपलब्धिले ठूलो महत्व राख्छ । आशालताले २०१८ मा पहिलो पटक टोकियो ओलम्पिक छनोटमा टोलीको नेतृत्व सम्हालेका थिए । त्यतिबेला उनी भर्खर २५ वर्षकी थिइन् । टोलीमा अन्य सिनियर खेलाडीहरू पनि थिए । तर, भारतीय फुटबल महासंघले आशालतामाथि विश्वास गरेको थियो । जुन विश्वास उनले गलत साबित हुन दिइनन् । २०१९ मा उनकै नेतृत्वमा भारतले नेपाललाई हराएर साफ च्याम्पियनसिप र सागमा स्वर्ण जितेको थियो । आशालताका लागि २०१९ खास वर्ष रह्यो । उनी २०१९ मा एएफसी वर्ष फुटबल खेलाडीमा मनोनीत हुने पहिलो भारतीय खेलाडी बनिन् । त्यसअघि उनी २०१८-१९ मा एआइएफएफ वर्ष खेलाडी पनि घोषित भएकी थिइन् ।
उनी आफैंले भनेका थिए, ‘२०१९ को साफमा नेपाललाई हराएको दिन म कहिल्यै बिर्सन सक्दिनँ । टोलीमा धेरै खेलाडी फेरबदल भएको थियो । तर, सबै युवा तथा केही सिनियर खेलाडीको कडा मिहिनेतका कारण हामीले विराटनगरमा उपाधि जित्न सफल भएका थियौं ।’
आशालता आफ्नो यो सय खेल आफ्नो आमाप्रति समर्पित गर्न चाहन्छिन् । भन्छिन्, ‘आमाले मेरो खेल प्रत्यक्ष रूपमा हेर्न पाउनु भएको छैन । यसपालि पनि आमा यता (नेपाल) आउन सक्नुभएन । आमासँगै टोली, फिजियो, अफिसियल सबैलाई म यो सफलता बाँड्न चाहन्छु ।’
उमेर समूहमा भारतको प्रतिनिधित्व गरिरहँदा आशालतालाई लाग्थ्यो, एकदिन भारतका लागि खेल्छु । तर, देशका लागि खेलिसकेपछि आफ्नो स्वास्थ्य, फिटनेस र शीर्षस्तरको खेल कायम राख्न गाह्रो हुने कुरा उनले सिनियर टोलीमा खेलेको केही वर्षमै थाहा पाइन् । यी व्यावसायिक कुराहरू थाहा पाएपछि उनले थप मिहिनेत गर्दै गइन् । तब त हो उनले यति लामो स्थिरता कायम गर्न सकेको । शरीरले जतिन्जेल साथ दिन्छ, त्यतिन्जेल खेल्ने योजना आशालताको छ । ढिलोचाँडो संन्यास लिए पनि उनी फुटबलबाट टाढा जाने योजना छैनन् । भन्छिन्, ‘जति सकिन्छ, त्यति खेल्छु । संन्यासपछि पनि फुटबलमै केही गर्छु । फुटबलबाहेक मलाई केही पनि गर्न आउँदैन ।’