काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला ट्वान्टी २० विश्वकपको उपविजेता टोलीलाई सोमबार बालुवाटारमा आतिथ्य गरेर बधाई दिएकी छिन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र टिम अधिकारीलाई निम्त्याएर प्रधानमन्त्री कार्कीले नेपाली खेलकुदका लागि ऐतिहासिक उपलब्धि हासिल गर्दै राष्ट्रिय गौरवको कथा लेखेको भन्दै टिमलाई थप प्रगतिको कामना गरिन ।
‘यो तपाईहरुको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पका कारण प्राप्त उपलब्धि हो,’ प्रधानमन्त्री कार्कीलाई उर्धत गर्दै प्रधानमन्त्री कार्यालयले जनाएको छ ‘तपाईँहरु हरेक खेलाडी र अफिसियल यस उपलब्धिको जस पाउनका लागि हकदार हुनुहुन्छ । अर्को पटक च्याम्पियन हुने गरि तयारीमा लाग्नुस ।’
दृष्टिविहिन महिला खेलाडीहरुले आफ्नै प्रयासमा हासिल गरेका उपलब्धि सराहनीय रहेको बताउँदै प्रधानमन्त्री कार्कीले सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गरेर सरकारका तर्फबाट पनि सहयोगको प्रयास गर्ने आश्वासन दिइन ।
प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोली हालै श्रीलंकामा भएको प्रतियोगितामा दोस्रो भएको थियो ।
