काठमाडौं । अन्तिम समयको गोलले स्पेनिस ला लिगामा रियाल मड्रिडले इल्चेलाई २-२ को बराबरीमा रोकेको छ ।
यो नितजासँगै १३ खेलमा ३२ अंक जोडेको रियाल शीर्ष स्थानमा उक्लिएको छ । इल्चे समान खेलबाट १६ अंकका साथ ११औं स्थानमा छ ।
आइतबार म्यानुअल मार्टिनेज भ्यालेरो रंगशालामा पाहुना टोली रियालका लागि डिन हाउसन र जुड बेलिङघमले गोल गरे । इल्चेका लागि एलेक्स फेबस र अल्भारो रोड्रिग्वेजले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३औं मिनेटमा फेबसको गोलमार्फत इल्चेले अग्रता लिएको थियो । ७८औं मिनेटमा हाउसनले रियाललाई बराबरीमा ल्याए ।
रोड्रिग्वेजले ८४औं मिनेटमा गोल गर्दा इल्चे २-१ ले अगाडि बढ्यो । तीन मिनेटपछि नै बेलिङघमले गोल गर्दै रियाललाई हारबाट जोगाए ।
इन्जुरी समयमा रक्षक भिक्टर चुस्टले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि इल्चे १० खेलाडीमा समेटिएको थियो ।
