काठमाडौं । भारतसँग ७ विकेटले पराजित भएसँगै नेपाल दृष्टिविहिन महिला टी–२० विश्वकपको उपविजेता बनेको छ ।
आइतबार श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा भारत अपराजित रहँदै च्याम्पियन बन्यो । समूहको खेलमा पनि भारतले नेपाललाई हराएको थियो ।
एक सय १५ रनको लक्ष्य भारतले ११.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो ।
भारतको लागि बि थ्री ब्याटर फुला सरेनलेले सर्वाधिक ४४ रन बनाइन् । बि वान ब्याटर करुना केले २७ बलमा ४२ रनको योगदान गरिन् ।
नेपालको लागि दिलिसरा धमलाले दुई तथा कान्ती योगी र प्रतिभा राईले समान एक विकेट लिएका हुन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय १४ रन बनाएको थियो ।
नेपालको लागि सरिता घिमिरेले ३८ बलमा सर्वाधिक ३५ रन बनाएकी हुन् । विमला राई २६ बलमा २६ रनको योगदान गरिन् ।
सरिता र विमलाको जोडीले ६५ रनको साझेदारी गरेका थिए । नेपालले भारतविरुद्ध अतिरिक्त २५ रन पाएको थियो ।
२७ कात्तिकबाट सुरु भएको विश्वकपमा नेपाल र भारतसहित अस्ट्रेलिया, पाकिस्तान, घरेलु टोली श्रीलंका र अमेरिका सहभागी भएका थिए ।
