काठमाडौं । नेपाली फुटबलको इतिहासमा सबभन्दा लामो समयसम्म निरन्तर आयोजना हुँदै आएको आहारारा पोखरा गोल्डकपको ऐतिहासिक २५औं संस्करण माघको अन्त्यमा सुरु हुने भएको छ ।
आयोजक सहारा क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएअनुसार प्रतियोगिता पोखरा रंगशालामा माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालन हुनेछ । त्यो समयका लागि नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले समय उपलब्ध गराइसकेको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी गराए ।
नेपाली फुटबलमा कुनै पनि प्रतियोगिता लगातार २५ वर्षसम्म लगातार भएको इतिहास छैन । अनाथ, असहाय तथा आर्थिक रुपमा बिपन्न वर्गका बालबालिकालाई निशुल्क आवासीय एकेडेमीमा राखेर फुटबल तथा शिक्षाको व्यवस्था गरिरहेको सहारा क्लबले २०५८ सालमा क्याराभान गोल्डकपको नाममा प्रतियोतिगाको सुरुआत गरेको थियो ।
लगत्तैको वर्षबाट आहा गोल्डकपका रुपमा नाम परिवर्तन भएको प्रतियोगिता पछिल्लो समय आहा रारा पोखरा गोल्डकपको नाममा नेपाली फुटबलको निरन्तर सेवामा छ । आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्सको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको संरक्षक पोखरा महानगरपालिका हो । साथै प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश खेलकुद विकास परिषद, कास्की जिल्ला खेलकुद विकास समिति, एन्फा, कास्की जिल्ला फुटबल संघ र पोखरा महानगरपालिका वडा नम्बर ९ ले पनि सहयोग गरिरहेको क्लबले जनाएको छ ।
प्रतियोगिता आयोजनामा कीर्तिमान बनाएको आहा रारा पोखरा गोल्डकपले व्यावसायिक प्रतिष्ठान र आयोजक बीचको सहकार्यको पनि कीर्तिमान बनाएको छ । नेपाली खेलकुदमा सहारा क्लब र हिमश्री फुड्सबीचको सहकार्यले २० वर्ष पूरा गरेर थप १० वर्षको सम्झौता भइसकेको छ ।
सोमबार पत्रकार सम्मेलनमा यो सहकार्यले आगामी दिनमा पनि निरन्तरता पाइरहने प्रतिबद्धता व्यक्त गर्दै हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले सहारा क्लबको कामबाट आफूहरु निकै प्रभावित भएको बताए ।
यसैगरी पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले प्रतियोतिगा फुटबल विकाससँगै पोखराको चिनारी फैलाउन पनि सफल भएको विचार राखे ।
