इन्टर मियामी

मेसी चम्किदा मियामीको सहज जित

काठमाडौं । कप्तान लियोनल मेसीले दुई गोल र दुई असिस्ट गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकरमा सहज जित निकालेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा मियामीले न्यु इङ्ल्यान्डलाई ४–१ ले पराजित गरेको हो । मियामीको जितमा मेसीले दुई तथा बेन्जामिन क्रामास्ची र लुइस स्वारेजले समान एक गोल गरेका हुन् ।

जितपछि मियामीले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ । ११ मध्ये ६ खेलमा जित, ३ बराबर र दुई खेलमा हार बेहोरेको मियामीको २१ अंक छ । दोस्रो स्थानमा रहेको रियाल साल्ट लेकको १८ अंक छ । पराजित न्यु इङ्ल्यान्ड चार अंकसहित पुछारमा छ ।

खेलमा अग्रता घरेलु टोली न्यु इङ्ल्यान्डले बनायो । टोमस चान्कालेले पहिलो मिनेटमै गोल गरेका थिए । मेसीले ३२औं मिनेटमा रोबर्ट टेलरको पासमा बराबरी गोल गरेका हुन् । दोस्रो हाफमा भने मियामीले तीन गोल थप्यो ।

६८औं मिनेटमा सर्जियो बुस्क्वेटको पासमा मेसीले मियामीलाई २–१ को अग्रता दिलाएका हुन् । मेसीकै पासमा बेन्जामिनले तेस्रो गोल गरे । ८९औं मिनेटमा मेसीकै पासमा स्वारेजले बक्स भित्रबाट गोल गर्दै ४–१ को सहज जित दिलाएका हुन् ।