महिला लिग छनोट

कर्णालीले लुम्बिनीलाई हरायो

तस्विरः एन्फा

काठमाडौं । एन्फा महिला लिग छनोटमा कर्णाली प्रदेशले आइतबार लुम्बिनीप्रदेशविरुद्ध ४-१ को सहजजित निकालेको छ ।

जितसँगै चार खेलमा नौ अंक जोडेको कर्णाली तेस्रो स्थानमा उक्लिएकाे छ । समान खेलबाट तीन अंकका साथ लुम्बिनी पाँचौं स्थानमा छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा कर्णालीलाई जित दिलाउन सुनकला राईले दुई तथा सञ्जिता बम्जन र वर्षा ओलीले समान एक गोल गरे । लुम्बिनीका लागि कप्तान ममता पुनले एक गोल फर्काइन् ।

तस्विरः एन्फा

खेलको १८औं मिनेटमा सुनकलाको गोलमार्फत कर्णालीले अग्रता लियो । ३७औं मिनेटमा सुनकलाले नै टोलीको अग्रता दोब्बर बनाइन् ।

ममताले ६७औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ७५औं मिनेटमा सञ्जिताले गोल गर्दै कर्णालीलाई ३-१ ले अगाडि बढाइन् ।

निर्धारित समय सकिन ६ मिनेट बाँकी छँदा वर्षाले गोल गर्दै कर्णालीलाई ४-१ को सहज जित दिलाइन् ।