वेष्ट इन्डिज-नेपाल शृंखला

वेष्ट इन्डिज ‘ए’ विरुद्ध लगातार दोस्रो जित दाउमा नेपाल

काठमाडौं । रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज (आइतबार) वेष्ट इन्डिज ‘ए’ विरुद्ध दोस्रो खेल खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा कप्तान रोहितले सतक बनाएपछि नेपालले दुई बल बाँकी रहँदा वेष्ट इन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको थियो ।

टस हारेर पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाएर दुई सय ५ रनको लक्ष्य दिएको वेष्ट इन्डिजलाई नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको थियो ।

पाँच खेलको शृंखलामा नेपालले १–० ले अग्रता बनाएको छ । पहिलो दिन १५ हजार समर्थकको साथ पाएको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा निस्कनेछ ।

यता, रोस्टन चेजको कप्तानीमा रहेको टेष्ट राष्ट्र वेष्ट इन्डिज ‘ए’ एसोसियट राष्ट्रविरुद्ध शृंखला ‘क्लिन स्विप’ गर्ने योजनामा थियो । तर, पहिलो खेलमा पराजित भएपछि उसले बाँकी खेल जित्ने योजना बनाएको छ ।

वेष्ट इन्डिज दोस्रो खेल जित्दै शृंखलामा पुनरागमन गर्ने योजनामा छ । खेलको टस पौने १२ बजे हुनेछ भने खेल सवाँ १२ मा सुरु हुनेछ ।

आईसिसी ट्वान्टी २० विश्वकपअघि दुबै टोलीले तयारीको लागि यो मैत्रीपूर्ण खेल खेलेका हुन् । वेष्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।