पोखरा स्पोर्टस अवार्ड

पोखरा स्पोर्टस अवार्डः अर्जुन र सुस्मिता उत्कृष्ट खेलाडी

अर्जुन कुमाल

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पोखरा स्पोर्टस अवार्डमा क्रिकेटका अर्जुन कुमाल तथा आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

पोखरा सभागृह हलमा शुत्ररबार भएको अवार्ड कार्यकममा अर्जुन पुरुष तथा सुस्मिता महिलातर्फ उत्कृष्ट चुनिए ।

वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा अर्जुनसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी थिए । यसैगरी सुस्मिताले आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाहीलाई पछि पारिन् ।

दुवैले टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटर र ट्रफी हात प्राप्त गरे ।

दिलासा राना

दिलासा राना उदीयमान खेलाडी घोषित भइन् । यो विधाको मनोनयमा दिलासासहित क्रिकेटकी ज्योत्सनिका मरासिनी र एथलेटिक्सका बादल कार्की थिए ।

उत्कृष्ट प्रशिक्षकमा भलिबलका रमेश केसीले कब्जा जमाए। केसीसँगै टेनिसका नीरज थापा र क्रिकेटका रिजन प्रजु उतकृष्ट प्रशिक्षक बन्ने दौडमा थिए ।  

उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षक घोषित हुनेले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे । उत्कृष्ट तीन को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई अर्पण गरिएको छ । मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरियो ।

इन्द्रा मल्ल

उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरिएको छ। उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई दिइयो ।

वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकारले ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे ।

यसैगरी ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसका अन्तर्राष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई स्पेसल अवार्डबाट सम्मान गरियो ।