कोलिन मुनरो

अन्तर्राष्ट्रिय क्रिकेटबाट मुनरोको संन्यास

काठमाडौं । न्युजिल्यान्डका ब्याटर कोलिन मुनरोले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । मुनरोले ट्वान्टी-२० विश्वकपका लागि टोलीमा छनोट नभएपछि यो निर्णय लिएका हुन् ।

३७ वर्षीय मुनरोले सन् २०२० यता कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन्। तर, उनले आफू ट्वान्टी-२० विश्वकपका लागि उपलब्ध भएको बताएका थिए ।

उनले न्युजिल्यान्डका लागि ६५ ट्वान्टी-२०, ५७ एकदिवसीय अन्तर्राष्ट्रिय तथा एक मात्र टेस्ट खेले । मुनारोले ट्जान्टी २० अन्तर्राष्ट्रियमा तीन शतक र ११ अर्धशतकसहित १७४३, एकदिवसीयमा आठ अर्धशतकसहित १२७१ र टेस्टमा १५ रन बनाएका छन् ।

उनले देशका लागि ट्वान्टी २० मा चार, एकदिवसियमा सात र टेस्टमा दुई विकेट पनि लिएका छन् ।

सन् २०१२ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमार्फत ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका मुनरोले सन् २०२० मा भारतविरुद्ध अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेले ।

यसैगरी उनले सन् २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध पहिलो तथा सन् २०१९ मा पाकिस्तानविरुद्ध अन्तिम एकदविसीय अन्तर्राष्ट्रिय खेल खेले । मुनरोले एक मात्र टेस्ट सन् २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए ।

अन्तिर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि मुनरोले फ्रेन्चाइज लिग भने खेल्नेछन् ।