कतार विश्वकप २०२२

विश्वकपमा जम्दै गरेका पाँच स्टार

दोहा । लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो र किलियन एम्बाप्पे लगायतका शीर्ष खेलाडीलाई कतार विश्वकपमा बढी प्राथमिकता साथ हेरिएको छ । तर  यस्ता केही युवा प्रतिभा पनि छन्, जसले कतार विश्वकपमा राम्रो छाप छाड्न सफल भए  ।

अमेरिकाका कप्तान टेलर एडम्स, नेदरल्यान्ड्सका स्ट्राइकर कोडी गाक्पो, अर्जेन्टिनाका इन्जो फर्नान्डेज, इङ्ल्यान्डका ज्युड बेलिङ्घम र क्रोएसियाका जोस्को ग्वार्डियोल कम चर्चाका साथ कतार पुगे पनि उच्च प्रदर्शनबाट विश्व फुटबलमाझ विशेष प्रभाव जमाउन सफल भएका छन् ।

अमेरिकालाई अन्तिम १६ सम्मको यात्रा तय गराउन लिड्स युनाइटेडका मिडफिल्डर एडम्सले महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।

विश्वकपको ठीक अघि कप्तानको जिम्मेवारी पाएका २३ वर्षीय स्टारले वेस्टन म्याकेनी र युनुस मुसाहसँग मिडफिल्डमा उच्च प्रदर्शन गर्नुका साथै टिमलाई उदाहरणीय नेतृत्व प्रदान गरिरहेका छन् । जुन इङ्ल्यान्ड र वेल्सविरुद्ध निक्कै प्रभावकारी साबित भएको थियो ।

एडम्सले मैदानभित्रजस्तै मैदान बाहिर पनि आफूलाई उल्लेखनीय परिपक्वताका साथ प्रस्तुत गर्दै आएका छन् । राजनीतिक रूपमा समेत विशेष चासोका साथ हेरिएको इरानविरुद्धको खेलअघि फुटबलसँग सम्बन्धित प्रश्नहरूको उनले चलाखीपूर्वक सामना गरेका थिए । कतारमा उनको प्रदर्शनले युरोपका केही ठूला क्लबको ध्यान तानेको छ ।

डच स्ट्राइकर गाक्पो समूह चरणका तीनै खेलमा गोल गर्ने एकमात्र खेलाडी हुन् । पिएसभी आइन्डहोभनबाट व्यवसायिक फुटबल खेल्ने २३ वर्षीय गाक्पोले सेनेगल, इक्वेडर र कतारविरुद्धका सबै खेलमा गोल गरेका थिए ।  

नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान हालले भने, ‘उनीसँग स्टार बन्नको लागि आवश्यक पर्ने सबै कुरा छन् । ’

इन्जो फर्नान्डेजले विश्वकप अघि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन् । तर कतारमा गरेको उच्च प्रदर्शनले उनलाई लियोनेल स्कालोनीको टोलीको महत्वपूर्ण हिस्सा बनाएको छ ।

२१ वर्षीय मिडफिल्डरले मेक्सिकोविरुद्ध वैकल्पिक खेलाडीका रुपमा मैदान छिर्दै गोल गरेका थिए । उनले पोल्यान्डमाथि २–० को जित निकाल्दा टोलीको दोस्रो गोलका लागि अवसर सिर्जना गरेका थिए ।

यही वर्ष बेन्फिकामा अनुबन्ध भएका फर्नान्डेजले आफ्नो नयाँ क्लबलाई च्याम्पियन्स लिगमा समूह विजेता बनाउन मद्दत गरेका थिए । मेक्सिकोविरुद्धको गोलले उनलाई लियोनल मेसीपछि अर्जेन्टिनाको विश्वकपमा दोस्रो कान्छो गोलकर्ता बनायो ।
 
बेलिङघम गत वर्षको युरोपियन च्याम्पियनसिपमा इङ्ल्यान्डका लागि खेलेपछि आफ्नो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा देखा पर्दैछन् । बेलिङ्घमको चर्चा गर्दा विर्सनै नहुने कुरा के हो भने उनी अझै पनि १९ वर्षका मात्र छन् ।

बोरुसिया डर्टमण्डका खेलाडी कतारमा गारेथ साउथगेटको टोलीमा मिडफिल्डको अभिन्न अंग बनेका छन् । इङ्ल्यान्डले इरानमाथि ६–२ को जित हात पार्दा उनले एक गोल गरेका थिए । 

क्रोएसियाका लागि एक उदीयमान खेलाडीको रुपमा रक्षक ग्वार्डियोल देखिएका छन् । हाल डिनामो जागरेबबाट लोनमा खेलिरहेका उनले बेल्जियमविरुद्धको खेलमा रोमेलु लुकाकुले अन्तिम समयमा गरेको प्रहारलाई रोक्दै २०१८ को उप विजेतालाई समूह चरणबाटै बाहिरनबाट जोगाएका थिए ।

विश्वकपअघिको अभ्यास खेलमा घाइते भए पनि २० वर्षीय ग्वार्डियोलको प्रदर्शनमा कुनै असर गरेको छैन । नाकको हड्डी भाँचिएका कारण उनी विश्वकपमा माक्स लगाएर खेलिरहेका छन् ।

क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले भने, ‘ग्वार्डियोल विश्वकै उत्कृष्ट रक्षक हुन् । उनी कुनै दिन नम्बर एक फुटबलर हुने छन्।’