समूह एच

दक्षिण कोरिया सनसनीपूर्ण जितसहित अन्तिम १६ मा, घाना र उरुग्वेको यात्रा समूह चरणमा सीमित

दोहा । ह्वाङ ही चानले इन्जुरी समयको दोस्रो मिनेटमा गरेको गोलमा पोर्चुगललाई २-१ ले हराउँदै  दक्षिण कोरिया समूह एच को उपविजेताको रुपमा कतार विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

उरुग्वेले घानालाई २-० ले निराश पारे पनि त्यो अघिल्लो चरण प्रवेशका लागि पर्याप्त भएन । 

समूह ‘एच’मा शीर्ष स्थानको पोर्चुगलको तीन खेलमा ६ अंक रह्यो भने दोस्रो स्थानको दक्षिण कोरियाको चार अंक रह्यो । समान खेलमा समान चार अंक र  समान गाेलअन्तर रहे पनि  बढी गाेल गरेकाे आधारमा  दक्षिण कोरिया  अन्तिम १६ मा प्रवेश  गरेकाे हाे ।चौथो स्थानको घानाको तीन अंक रह्यो ।

पोर्चुगल यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको थियो ।  

खेलको पाँचौ मिनेटमा रिकार्डो होर्टाले गरेको गोलमा पोर्चुगलले अग्रता लिएको थियो ।

२७औं मिनेटमा योङ ग्वानले दक्षिण कोरियालाई खेलमा फर्काएका थिए ।

इन्जुरी समयको दोस्रो मिनेटमा ह्वाङ ही चाने गरेको गोल दक्षिण कोरियालाई सनसनीपूर्ण जितसहित अघिल्लो चरण प्रवेश गर्न पर्याप्त बन्यो ।

यता पहिलो हाफमा जर्जियान डे अराकेइटाले गरेको दुई गोलमा घानालाई हराए पनि त्यो नतिजा उरुग्वेका लागि अन्तिम १६ मा प्रवेश गर्न पर्याप्त भएन 

२६औं मिनेटमा जर्जियान डे अराकेइटाले गरेको गोलमा उरुग्वेले अग्रता लिएको थियो । 

त्यसको ६ मिनेटपछि नै डे अराकेइटाको गोलमा उरुग्वेले अग्रता दोब्बर पारेको थियो । 

यसअघि २१औं मिनेटमा कप्तान आन्द्रे आयुले पेनाल्टीको अवसर गुमाउँदा घानाले अग्रता लिने अवसर गुमाएको थियो ।  उनको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोचेट अल्भरेजले बचाएका थिए ।