समूह चरण समिक्षा

विश्वकपको पहिलो चरणः भव्य आयोजना, साउदीको सनसनी, पूर्व विजेताहरु स्तब्ध

काठमाडौं । विवाद र विरोधका १२ वर्षे शृंखलाका बावजुद कतारी मेहनत र प्रतिबद्धताको उस्तै नमुनाले इतिहासकै भव्य र अलौकिक विश्वकप मध्यपूर्वमा भइरहेको छ ।

भुगोल र जनसंख्याको दृष्टिले एउटा सानो देशले धेरैको विश्वासविपरित अहिलेसम्मकै भव्य प्रतियोगिता आयोजना गरिरहेको छ । कुल ६४ खेलको प्रतियोगिताका ४८ खेल सम्पन्न भइसकेका छन् ।

समूह चरणका सबै खेल शुक्रबार रातिसम्ममा सम्पन्न हुँदा जसरी कतारले नसोचेको तवरमा भव्य प्रतियोगिता आयोजना गरिरहेको छ । त्यसैगरि मैदानमा पनि केही आश्चर्यजनक नतिजा निस्किए ।

विश्वकपका पाँच उपाधि विजेताहरुको बीचबाट एसियाली टोली जापान समूह विजेताको हैसियतसहित नकआउट चरण पुग्ने कस्ले सोचेको थियो र ?

तर जापानले विश्व फुटबलमा बहादुर प्रदर्शन गरिछाड्यो । पहिलो खेलमै चार पटकको पूर्व विजेता युरोपेली महारथी जर्मनीमाथि २-१ को नतिजामा हराएको जापानले समूह ‘ई’मा अर्को पूर्व विजेता स्पेनलाई पनि त्यही नतिजामा पराजित गर्यो ।

उपाधिको मुख्य दाबेदारका रुपमा कतार भ्रमणमा आएका दुवै टोलीलाई हराउन सफल जापान मध्य अमेरिकी प्रतिद्धन्द्धी कोस्टारिकासँग भने १-० को नतिजामा स्तब्ध भयो ।

पहिलो खेलमा जापानसँग भोगेको त्यही हार निर्णायक बन्दा जर्मनी लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाट बाहिरिनुपर्यो ।

आफैले आयोजना गरेको कारण मात्र विश्वकप खेल्ने मौका पाएको कतारको टिमबाट मैदानभित्र खासै अपेक्षा थिएन । नतिजा भयो पनि त्यस्तै ।

समूहका सबै तीन खेलमा पराजय भोगेको कतार इक्वेडरसँग २-०, सेनेगलसँग ३-१ तथा नेदरल्यान्ड्ससँग २-० को नतिजामा निराश हुँदै पहिलो चरणबाटै बाहिरियो ।

दुई जित र एक बराबरी नतिजा निकालेको नेदरल्यान्ड्स विजेताका रुपमा अगाडि बढ्दा दुई जितका साथ सेनेगल उपविजेता बन्दै समूह ‘ए’बाट अगाडि बढे ।

कतारलाई हराउनाका साथै नेदरल्यान्ड्ससँग १-१ को बराबरी खेले पनि दक्षिण अमेरिकी टोली इक्वेडर अन्तिम खेलमा सेनेगलसँग २-१ को नतिजामा निराश भएपछि समूह चरणबाट अगाडि बढ्न सकेन ।

समूह ‘बी’मा देशभित्र महिला अधिकारको पक्षमा भएको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रिय गान गाउन अस्विकार गरेको इरानले पहिलो खेलमा इङ्ल्यान्डसँग ६-२ को फराकिलो हार बेहोर्यो । जसका कारण वेल्सलाई २-० को नतिजामा हराए पनि अन्तिम खेलमा अमेरिकासँग १-० ले पराजित भएको इरानको यात्रा समूह ‘बी’बाट अगाडि बढ्न सकेन ।

दुई जित र एक बराबरीका साथ विजेताको हैसियतमा इङ्ल्यान्ड नकआउट चरण पुग्दा एक जित र दुई बराबरी नतिजा निकालेको अमेरिका उपविजेताको हैसियतमा अगाडि बढ्यो । एक बराबरी र दुई हारको नतिजामा सीमित भएपछि ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्सको यात्रा पनि सहभागितामै सीमित भयो ।

मध्यपूर्वको महारथी साउदी अरेबियाको यात्रा पनि सहभागिताभन्दा माथि उठ्न सकेन । तर, साउदीकै कारण दुई पटकको पूर्व विजेता अर्जेन्टिना विजेता बन्दै नकआउट चरण प्रवेश गरेको समूह ‘सी’ को प्रतिस्पर्धा निक्कै रोचक रहयो ।

पहिलो खेलमै साउदीले सुरुमा गोल खानाका बावजुद उपाधिको मुख्य दाबेदार अर्जेन्टिनामाथि २-१ को सनसनीपूर्ण नतिजा हासिल गरेको थियो ।

विश्वकप इतिहासकै सबभन्दा स्तब्धतापूर्ण नतिजामध्येको एकमा सफलता हासिल गरेपछि अत्यन्तै कटु सम्बन्ध रहेको छिमेकी कतारको मैदानमा साउदीले ठूलै बाजी मार्ने अपेक्षा थियो ।

तर अर्जेन्टिनाले त्यसपछिका दुई खेलमा उत्कृष्ट पुनरागमन जनाउँदै विजेताका रुपमा यात्रा अगाडि बढायो भने पोल्यानड उपविजेताका रुपमा नकआउट चरण पुग्यो ।

समान चार अंक भए पनि गोलअन्तरमा मेक्सिकोलाई पछि पार्दै पोल्यान्डले अन्तिम १६ मा स्थान सुरक्षित गरेको थियो । विश्वकपको सबभन्दा सनसनीपूर्ण नतिजा निकालेको साउदी भने तीन अंकका साथ पुछारमा रहेर कतारबाट विदा भयो ।

युरोपेली टोलीमध्ये जर्मनी, बेल्जियम र डेनमार्कको प्रदर्शन यसपाली विर्सन लायक रहयो । यही कमजोर प्रदर्शनबाट गुज्रिँदा एक वर्ष अगाडि युरोपियन च्याम्पियनसिपमा तहल्का मच्चाएको डेनमार्कको यात्रा समूह चरणमै सीमित रहयो ।

फ्रान्सले अन्तिम खेलमा ट्युनिसियासँग पराजित हुनुअघि नै सुरुका दुई खेल जितेर नकआउट चरणमा ठाउँ सुरक्षित गरिसकेको थियो । अस्ट्रेलियाले अन्तिम खेलमा डेनमार्कलाई हराएर उपविजेताका रुपमा अन्तिम १६ को टिकट काट्यो ।

समान ६ अंकका साथ फ्रान्स र अस्ट्रेलियाले नकआउट चरण प्रवेश गर्दा अन्तिम खेलमा फ्रान्समाथि जित हासिल गरे पनि चार अंकमा सीमित ट्युनिसिया अगाडि बढ्न सकेन । डेनमार्कको खातामा त तीन खेल सकिँदा एक अंक मात्र थियो ।

उत्तर अमेरिकी प्रतिनिधि क्यानाडाको उपस्थिती विश्वकपमा ‘ह्विपिङ ब्वाइज’मा सीमित भयो । समूह ‘एफ’बाट मोरक्को विजेता तथा क्रोएसिया उपविजेता बन्दै अगाडि बढ्दा क्यानाडाले एउटै अंक जोड्न सकेन ।

फिफा विश्व वरीयताको दोस्रो स्थानमा रहेर समूहको अर्को टोली उपाधि दाबेदारको हैसियतमा कतार पुगेको बेल्जियम तीन खेलमा चार अंक मात्र जोड्न सकेका कारण समूह चरणबाटै बाहिरियो । मोरक्कोसँग पराजित भएको टोलीले क्रोएसियासँग बराबरी खेलेको थियो । कमजोर क्यानाडामाथि निकालेको १-० को नतिजा कतार विश्वकपमा बेल्जियमले हासिल गरेको एउटै नतिजा थियो ।

यसअघि नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको क्रिस्टियानो रोनाल्डोको पोर्चुगल समूह ‘एच’को विजेता भयो । उरुग्वेसँग गोलरहित बराबरी खेल्दै यात्रा थालेको एसियाली महारथी दक्षिण कोरिया दोस्रो खेलमा घानासँग ३-२ ले पराजित भएपछि टोलीको नकआउट चरण पुग्ने सम्भावना पातलिइसकेको थियो । अन्तिम खेलमा पनि पोर्चुगलसँग १-१ को बराबरीमा सीमित भएपछि २००२ मा आफैले विश्वकप आयोजना गर्दा सेमिफाइनलसम्म पुगेको कोरिया समूह चरणबाटै घर फर्किनुपर्यो । 

घानामाथिको रवाफलाई निरन्तरता दिने क्रममा शुक्रबार समूह चरणको अन्तिम खेलमा २-० को जित हासिल गरे पनि उरुग्वे नकआअउट चरण प्रवेश गर्न असमर्थ भयो । यसअघि नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको क्रिस्टियानो रोनाल्डोको पोर्चुगल अन्तिम खेलमा दक्षिण कोरियासँग पराजित हुनाका बावजुद समूह ‘एच’को विजेता भयो ।

२०१० को विश्वकपमा लुइस स्वजारेजले खेलको अन्तिम समयमा घानाका खेलाडीको प्रहार गोलपोस्टमा नियतवश हातले रोकेका थिए ।

घानाले पेनाल्टीको अवसर त पायो, तर त्यसलाई सदुपयोग भने गर्न सकेन । असामोह जियानले पेनाल्टीको अवसरको सदुपयोग गर्न सकेनन् । पेनाल्टी सुटआउटमा घानाले उरुग्वेलाई नतिजा सुम्पियो । घाना आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलताको संघारमा पुगेर पनि असफल भयो ।

शुक्रबार घानाका लागि उरुग्वेसँग विश्वकपकै मञ्चमा बदला लिने राम्रो अवसर थियो । टोलीले पहिलो हाफमै पेनाल्टीको अवसर पनि पाएको थियो । तर, कप्तान आन्द्रे आयुको फितलो प्रहार विपक्षी गोलकिपरलाई कटाउन सफल भएन ।

पेनाल्टी जोगाएको जोशमा उरुग्वेले खेल सहजै आफ्नो पक्षमा पार्यो । तर, एसियाली महारथी दक्षिण कोरियाले अन्तिम समयमा गोल गर्दै पोर्चुगलमाथि २-१ को जित हासिल गरेपछि उरुग्वे र घाना दुवैले समूह चरणबाटै बिदा लिए । दक्षिण कोरिया र उरुग्वेको समान चार अंक भए पनि दक्षिण अमेरिकी टोली गोलअन्तरमा पछि परेको थियो । 

पहिलो चरणमा सबभन्दा प्रभावशाली देखिएको पाँच पटकको पूर्व विजेता ब्राजिलले एक खेलअगावै नकआउट चरणको यात्रा पक्का गरिसकेको छ । त्यसक्रममा टोलीले तीन गोल गरेर एउटै गोल खाएको छैन । जारी विश्वकपको पहिलो दुई खेलमा एउटै गोल नखाने टोली ब्राजिल थियो । यसैगरी पहिलो दुई खेलमा गोल गर्न नसकेको चाँही अर्को दक्षिण अमेरिकी टोली उरुग्वे थियो ।

समग्रमा पहिलो चरणको समाप्तीमा युरोपका केही महारथी कमजोर प्रदर्शनका साथ विदा भए पनि विश्वकपमा दक्षिण अमेरिका र युरोपको दबदबा भने कायम छ ।

एसिया र अफ्रिकाका टिमहरुले केही सनसनीपूर्ण नतिजा निकाले पनि उनीहरुको यात्रा लामो जाने अपेक्षा गर्न सकिन्न ।