क्यामरुन

क्यामरुनसँग ब्राजिल स्तब्ध, स्विट्जरल्यान्ड अन्तिम १६ मा

दोहा । इन्जुरी समयमा  भिन्सेन्ट अबुबकारले गरेको गोलमा शुक्रबार ब्राजिललाई १-० ले निराश पारेको पनि त्यो नतिजा क्यामरुनका लागि कतार विश्वकप २०२२ को अघिल्लो चरण प्रवेशका लागि पर्याप्त भएन । 

यसअघि दुई खेलमा शतप्रतिशत नतिजा ल्याएको ब्राजिलको समूह चरणमा अपराजित रहने लक्ष्यले पूर्णता पाएन । ब्राजिल समूह जी बाट यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको थियो । 

शीर्ष स्थानको ब्राजिलको तीन खेलमा ६ अंक रह्यो भने दोस्रो स्थानको स्विट्जरल्यान्डको पनि समान ६ अंक रह्यो । स्विट्जरल्यान्ड समूह उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । स्विट्जरल्यान्डले अन्तिम खेलमा सर्बियामाथि ३-२ को जित निकालेको थियो । तेस्रो स्थानको क्यामरुनको चार र चौथो स्थानको सर्बियाको एक अंक रह्यो ।

इन्जुरी समयको दोस्रोे मिनेटमा अबुबकारले गरेको गोलमा क्यामरुनले ब्राजिललाई स्तब्ध पारेको हो ।

गोलको खुशीयाली मनाउँदा जर्सी खोलेको भन्दै दोस्रो पहेँलो कार्डको दर्शन गरेसँग अबुबकार मैदानबाट बाहिरिएका थिए ।