इङ्लिस प्रिमियर लिग

आर्सनलको रोमाञ्चक जित

काठमाडौं । आर्सनलले इङ्लिस प्रियिमर लिगमा आइतबार घरेलु टोली टोटनहमविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै ३५ खेलबाट ८० अंक जोडेको आर्सनल शीर्ष स्थानमा कायम छ । पराजित टोटनहम ३३ खेलबाट ६० अंकका साथ पाँचौं स्थानमा छ ।

टोटनहम रंगशालामा आर्सनललाई जित दिलाउन बुकायो साका र काइ  हाभर्ट्जले गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो । टोटनहमका लागि क्रिस्टियन रोमेरो र कप्तान सन ह्युन मिनले गोल फर्काए ।

खेलको १५औं मिनेटमा पियरे इमिल होन्बर्गबाट आत्मघाती गोल हुन पुग्दा आर्सनले अग्रता लियो । ३७औं मिनेटमा साकाले टोलीको अग्रता दोब्बर बनाए ।

११ मिनेटपछि हाभर्ट्जले गोल गर्दा आर्सनलले पहिलो हाफमा ३-० को अग्रता बनायो । दोस्रो हाफमा दुई गोल गर्दै टोटनहमले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन ।

६४औं मिनेटमा रोमोरोले टोटनहमका लागि गोल गरे । निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा ह्युन मिनले पेनाल्टीमार्फत गोल गरेपछि खेल ३-२ को रोमाञ्चक मोडमा पुग्यो ।

तर, त्यसपछि थप गोल हुन नसक्दा आर्सनल विजयी भयो ।