ट्वान्टी २० शृंखला

कप्तान रोहितको उत्कृष्ट प्रदर्शका बावजुद नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलले लगातार दोस्रो दिन सनसनीपूर्ण ब्याटिङ प्रदर्शन गर्नाका बावजुद वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा आइतबार नेपालले १० रनको पराजय भोगेको छ ।

शृंखलाको पहिलो खेलमा शनिबार रोहितको ११२ रनको प्रेरणामा भ्रमणकारी टोलीमाथि चार विकेटको जित हासिल गरेको नेपालका लागि कप्तानको प्रदर्शन आइतबार दोस्रो खेलमा पनि प्रभावशाली थियो ।

तर ४८ बलमा ६ चौका र दुई चौकाको मद्दतले अविजित ७१ रन बनाएका रोहितले अर्को इन्डबाट त्यहीअनुसारको साथ नपाउँदा नेपालले १६१ रनको लक्ष्य हासिल गर्न सकेन । दोस्रो खेलमा रोमाञ्चक जित हासिल गरेपछि वेस्ट इन्डिजले पाँच खेलको शृंखला १-१ को बराबरीमा ल्याएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै १५० रन बनायो । वेस्ट इन्डिजका लागि आवेड म्याकोय र गुडाकेश मोतीले समान दुई तथा  ओशन थोमस र रोस्टन चेजले समान एक विकेट लिए ।

नेपालले पहिलो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमायो । चौथो ओभरको चौथो बलमा दुई रन बनाएका कुशललाई ओवेड म्याकोयले जोनसन चार्ल्सबाट क्याच गराए ।

पाँचौं ओभरमा चौथो बलमा एक रन बनाएको अनिल शाहलाई ओशन थोमसले विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच गराए ।

छैटौं ओभरमा नेपालले दुई विकेट गुमायो । ओभरको पाँचौं बलमा १७ रन बनाएर खेलिरहेका लोकेश बमलाई गुडाकेश माेतीले बोल्ट गरे । अन्तिम बलमा कुशल मल्ल खाता पनि खोल्न नपाई रन आउटको सिकार बने ।

नवौं ओभरको दोस्रो बलमा २६ रन बनाएका गुल्सन झा रोस्टन चेजबाट बोल्ड भए । गुल्सनले ११ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । १५औं ओभरको पहिलो बलमा मोतीले १२ रन बनाएका आरिफ शेखलाई एलिक अथानाजबाट क्याच गराए ।  

१६औं ओभरको तेस्रो बलमा म्याकोयले दीपेन्द्रसिंह ऐरीलाई पाँच रनमा चेजबाट क्याच गराए । १८औं ओभरको पाँचौं बलमा तीन रन बनाएर खेलिरहेका सोमपाल कामी रन आउट भए । 

अन्तिम ओभरको तेस्रो बलमा सात रन बनाएका आकाश चन्द  रन आउट भए ।

त्यसअघि  टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६० रनको योगफल बनाएको थियो । जहाँ अन्तिम दुई ओभरमा नेपाली बलरले ४१ रन दिनुले भ्रमणकारी टोलीलाई ठूलै राहत प्रदान गर्यो ।

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान दुई तथा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले एक विकेट लिए ।

सागरले तेस्रो ओभरको दोस्रो बलमा ओपनर एलिक अथानाजलाई ब्यक्तित ६ रनमा कुशल मल्लबाट क्याच गराए । सोही ओभरको पाँचौं बलमा ११ रन बनाएर खेलिरहेका अर्का ओपनर जोनसन चार्ल्स बोल्ड भए ।

१०औं ओभरको अन्तिम बलमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजलाई कुशल भुर्तेलले बोल्ड गरे । २२ बलको सामना गरेका चेजले दुई चौका र एक छक्काको मद्दतले २३ रन बनाए ।

१४औं ओभरको दोस्रो बलमा कुशलले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो विकेट लिए । उनले केसी कार्थीलाई १० रनमा कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए ।

सोमपाल कामीले १७औं ओभरको पहिलो बलमा आठ रन बनाएका किमो पउललाई बोल्ड गरे ।

१८औं ओभरको दोस्रो बलमा हाइडेन बाल्स रन आउटको सिकार बने । उनले नौ रन बनाए । सोहि ओभरको पाँचौं बलमा आन्द्रे फ्लेचरलाई दीपेन्द्रसिंह ऐरीले ४३ रनमा लोकेश बमबाट क्याच गराए । ३६ बलको सामना गरेका फ्लेचरले तीन छक्का प्रहार गरे ।

शृंखलाको तेस्रो खेल बुधबार हुनेछ । 

(सबै तस्विर क्यान)