जर्मनी

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने मुलरको संकेत

दोहा । कतार विश्वकप २०२२ को यात्रा समूह चरणमा सीमित भएसँगै जर्मनीका थोमस मुलरले त्यसलाई आफ्नो खेलजीवनकै सबै भन्दा खराब क्षण भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने संकेत गरेका छन् ।

समूह इ को अन्तिम खेलमा  कोस्टारिकामाथि ४-२ को जित निकाले पनि जर्मनी स्पेनसँग गोलअन्तरमा पछि परेपछि समूह चरणबाट बाहिरिएको थियो ।

जर्मनीको तीन खेलमा चार अंक रह्यो । तीन खेलमा ६ अंक जोडेको जापान विजेता र समान खेलमा चार अंक जोडेको स्पेनले क्रमशः समूह विजेता र उपविजेताको रुपमा अन्तिम १६ को टिकट काटे । 

चार पटकको विश्व विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको यो लगातार दोस्रो पटक हो ।रुस विश्वकपमा पनि जर्मनीको यात्रा समूह चरणमा सीमित भएको थियो ।

‘यो निकै दुखद क्षण हो, मलाई मेरो अन्तर्राष्ट्रिय खेलजीवन अब के हुन्छ भन्ने थाहा छैन’, मुलरले भने, सम्भवत यो मेरा लागि जर्मनी टोलीबाट अन्तिम खेल पनि हुनसक्छ । जर्मनीको टोलीबाट खेल्न पाउनु मेरा लागि गर्वको विषय हो । म हाम्रा समर्थकसँग माफि माग्न चाहन्छु ।'

मुलरले जर्मनीबाट एक सय २१ खेल खेल्दै ४४ गोल गरेका छन् । सन् २०१४ मा अर्जेन्टिनालाई निराश पार्दै विश्वकपको उपाधि जित्दा मुलर टोलीका प्रमुख खेलाडी थिए ।