बेल्जियम

मार्टिनेजको राजिनामा

दोहा । कतार विश्वकप २०२२ को यात्रा समूह चरणमा सीमित भएसँगै बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट राजिनमा लिएका छन् ।

विश्व वरियताको दोस्रो स्थानमा रहेको बेल्जियमलाई समूह एफ बाट अघिल्लो चरण प्रवेशकालागि अन्तिम खेलमा क्रोएसियामाथि जितको विकल्प थिएन । तर क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियमको यात्रा समूह चरणमा सीमित भएको थियो ।

पहिलो खेलमा क्यानडामाथि १-० को जित निकालेको बेल्जियम दोस्रो खेलमा मोरोक्कोसँग २-० ले पराजित भएको थियो । 

क्यानडामाथि २-१ को जितपछि तीन खेलमा सात अंक जोडेको मोरोक्को समूह एफ को विजेता बन्दा समान खेलमा चार अंक जोडेको क्रोएसिया समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो । बेल्जियमको भने तीन खेलमा मात्र तीन अंक रह्यो । चौथो स्थानको क्यानडा भने अंकविहिन रह्यो ।

सन् १९९८ पछि बेल्जियम विश्वकपको समूह चरणबाट बाहिरिएको यो पहिलो पटक हो । बेल्जियमले रुस विश्वकपमा तेस्रो स्थान हात पारेको थियो । 
मार्टिनेजको सम्झौता कतार विश्वकपसम्म मात्र थियो ।

‘हामी आफ्नो लक्ष्यमा पुग्न सकेनौ’,मार्टिनेजले भने, ‘त्यसैले टोलीको असफलताको सबै जिम्मेवारी लिँदै म पदबाट राजिनामा दिएको घोषणा गर्दछु ।’