समूह इ

जापान समूह विजेता,जर्मनी बाहिरियो

दोहा । स्पेनमाथि २-१ को पुनरागमान जितमा जापानले समूह इ को विजेताको रुपमा कतार विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गर्दा उपाधि दाबेदार मानिएको जर्मनीको यात्रा भने समूह चरणमा सीमित भएको छ ।

तीन खेलमा दुई जितपछि ६ अंकसहित जापान समूह विजेता बन्दा समान खेलमा चार अंकसहित दोस्रो स्थानमा बसेको स्पेन उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्यो । समान चार अंक भए पनि जर्मनी स्पेनलाई गोलअन्तरमा पछि पार्न भने असफल भयो ।

पहिलो खेलमा जर्मनीलाई २-१ ले हराएको जापान दोस्रो खेलमा कोस्टारिकासँग १-० ले पराजित भएको थियो । त्यसैले अघिल्लो चरणमा स्थान बनाउन जापानमाथि स्पेनलाई जित्ने पर्ने दबाब थियो ।

११औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता लिएसँगै जापान निराश बनेको थियो ।

४८औं मिनेटमा रित्सु डोआन र ५१औं मिनेटमा ओ तानाकाले गारेको गोल जापानका लागि समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्न पर्याप्त भयो ।

जापानले अन्तिम १६ मा समूह एफ को उपविजेता क्रोएसियासँग खेल्नेछ भने स्पेनले मोरोक्कोविरुद्ध खेल्नेछ ।

यता पहिलो खेलमा जापानसँग स्तब्ध भएको जर्मनीले दोस्रो खेलमा स्पेनलाई बराबरीमा रोक्दै अन्तिम १६ प्रवेशको सम्भावना कायम राखेको थियो । 

जर्मनीलाई अघिल्लो चरण प्रवेशका लागि आफ्नो जित मात्र पर्याप्त थिएन । त्यसका लागि स्पेनले जापानलाई हराएको हुनुपर्दथ्यो । तर कोस्टारिकामाथि ४-२ को जित निकाले पनि अर्को खेलमा स्पेनले जापानलाई नतिजा सुम्पिएसँगै जर्मनीको यात्रा समूह चरणमा सीमित भएको हो ।

सन् २०१४ को विश्व विजेता जर्मनी विश्वकपको समूह चरणबाट बाहिरिएको यो लगातार दोस्रो पटक हो । २०१८ को रुस विश्वकपमा पनि जर्मनीको यात्रा समूह चरणमा सीमित भएको थियो ।