नेपाल बास्केटबल संघ

बास्केटबल संघको अध्यक्षमा गुरुङ निर्विरोध

नेपाल बास्केटबल संघको अध्यक्षमा भीमसिंह गुरुङ निर्विरोध चयन भएका छन् । पाँचौं चुनावी साधारणसभाले शनिबार गुरुङको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति  निर्विरोध चयन गरेको हो । यसअघि गुरुङ कार्यवाहक अध्यक्ष थिए ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा जुमप्रसाद गुरुङ र मनीषकुमार हयोजु उपाध्यक्ष, नरेन्द्र थापा महासचिव, फनिन्द्रमान श्रेष्ठ सचिव तथा विष्णुहरि त्रिपाठी कोषाध्यक्षान चयन भए । पवनकुमार थापा, सरोजा कोइराला (श्रेष्ठ), बसन्तराज गिरी, राजकुमार महर्जन र लोकेन्द्रबहादुर सिंह सदस्य चुनिए ।

नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

त्यसअघि साधारण सभाको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरेका  थिए । उद्घाटनका अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीलगायतको उपस्थिति थियो ।