टिआइए कप बास्केटबल

टिआइए कप बास्केटबलः बिएनए र एचएचसिए विजयी

टिआइए बास्केटबलको सिनियर ब्वाइजमा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । बसुन्धरा नेसनल एकेडेमी (बिएनए) र एचएचसिएले १५ औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार जित निकालेका छन् ।

हात्तीगौडास्थित आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टिआइए) को आयोजनामा जारी प्रतियोगितामा बिएनएले हिरश्मिलाई १२-३ ले पराजित गर्यो । बिएनएकी स्मृति खत्रीले सात अंक जोडिन् ।

एचएचसिएले हिमालयलाई ३६-६ ले सहजै हरायो । एचएचसिएकी सोरा घलेले नौ स्कोर गरिन् ।

सिनियर गर्ल्समै भ्याली पब्लिकले स्किब्सलाई २६-१० तथा मन्जरीले ग्रिनल्यान्डलाई १९-१८ ले हराए । भ्याली पब्लिककी लोरिशा गौचन तथा मन्जरीकी न्यादिरा गुरुङले समान आठ अंक बटुले ।

सिनियर ब्वाइजमा विल्सन एकेडेमीले मन्जरीलाई ३९-१३, निम्सले काठमाडौं भ्यालीलाई ४१-३८, ग्रिनल्यान्डले नेसनल युनाइटेडलाई ३९-२५ र भ्याली पब्लिकले एचएचसीएलाई ५४-३१ ले स्तब्ध बनाए । 

विल्सनका अनुप मगरले १०, निम्सका फुर्वा तामाङले १७, ग्रिनल्यान्डका प्रवीण गुरुङले १५ र भ्याली पब्लिकका सुनिल पौडेलले २८ अंक जोडे ।