नेपाल सुपर लिग

धनगढीसँगै फाइनल खेल्ने प्रशिक्षक न्यौपानेको इच्छा

काठमाडौं । नेपाल सुपर लिगको पहिलो क्वालिफायरमा पराजित भए पनि पोखरा थन्डर्सका प्रशिक्षक नवीन न्यौपानेले धनगढी एफसीसँगै फाइनल खेल्ने इच्छा रहेको बताएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार धनगढीसँग पेनाल्टी सुटआउटमा ४-३ ले पराजित हुँदा पोखराले सिधै फाइनलमा स्थान बनाउने अवसर गुमाएको थियो । 

पोखराले अब दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको एलिमिनेटरको विजेतासँग खेल्नेछ ।

‘अग्रता लिएर पनि जोगाउन सकेनौं । यहि घातक भयो । सिल्ली मिस्टेकमा गोल ब्यहोर्न पुग्यौं । अवसर पाए पनि सदुपयोग गर्न सकेनौं । आज धनगडीकै दिन रहेछ । अझै एक मौका छ । धनगढीसँगै फाइनल खेल्ने इच्छा छ,’ न्यौपानेले भने,‘खेलाडीलाई बलियो बनाउनु पर्छ । दुई दिनमा खेल्नुपर्छ । दोस्रो क्वालिफायरमा काठमाडौ आए राम्रो हुन्छ ।’

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीले २-२ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

खेलको पाँचौं मिनेटमै पोखरा अग्रता लिन सफल भयो । स्टेफन अन्नोरको लामो पासलाई मोसेस ग्याबाले बायाँ फ्लान्कमा भेटाएपछि उनले खेलेको क्रसमा दिपेश आले मगरले आयुष घलान सामु डिफ्लेक्ट गरिदिए । आयुषले उक्त बललाई जाली चुमाए  ।

२४ औं मिनेटमा धनगढीले बराबरी गर्ने अवसर गुमायो । अभिषेक गुरुङको क्रसमा अहमद हिजाजीको हेडर गोललाइनमा नरेन्द्र चौधरीले ब्लक गरे ।

५४ औं मिनेटमा धनगढीले खेललाई बराबरीमा ल्यायो । कमल श्रेष्ठको फ्रिकिकलाई कप्तान देवेन्द्र तामाङले हेडमार्फत पोस्टको दिशा दिए ।

१ सय ३ औं मिनेटमा अन्नोरको गोलमार्फत पोखराले २-१ को अग्रता लियो । १ सय २० औं मिनेटमो अहमद हिजाजीले धनगढीलाई २-२ को बराबरीमा ल्याए ।

धनगगढीको प्रशिक्षक युगल किशोर राईले टोली योग्य भएर नै फाइनल पुगेको बताए । ‘खेलमा पछाडि पर्दा कमब्याक गर्न गाह्रो भयो । अन्तिम सम्म खेलाडीले फाइट गरे । हामी योग्य भएर नै फाइनलमा छौं । भाग्यले पनि साथ दियो,’ राईले भने,‘ आजको जितको श्रेय खेलाडीलाई जान्छ । सबैले आ आफ्नो ठाउँबाट शतप्रतिशत दिए । फाइनका लागि तया छौं ।’