फ्रेन्डसिप तेक्वान्दो

आइओएफटिसीका लागि ६ खेलाडी छनोट

टिम च्याम्पियन एनटिए

दक्षिण कोरियाको सिओलमा अगस्ट २३ देखि २४ तारिखसम्म हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) का लागि नेपालबाट ६ खेलाडी छनोट भएका छन् ।

आइतबार सम्पन्न चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताबाट ग्योरोगीमा चार र एकल पुम्सेमा दुई गरी ६ स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएका हुन् ।

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सह-आयोजनामा भएको प्रतियोगिताअन्तर्गत ग्योरोगीको पुरुष ६३-६८ केजीमा एनटिएका सुवासचन्द्र बोहराले स्वर्ण जिते । उनले फाइनलमा आफ्नै क्लबका आयुश ढुंगेललाई पराजित गरे ।

पुरुष ५४-५८ केजीमा कोटेश्वरका एलिस ठकुरीले आफ्नै डोजाङका मान्देव भाट क्षेत्रीलाई हराउदै स्वर्ण हात पारे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको महिला ४६-४९ केजीमा कोटेश्वर तेक्वान्दो डोजाङकी इशिका राणाले स्वर्ण जितिन् । इशिकाले फाइनलमा चन्द्रागिरीकी सुमित्रा बलामीलाई हराइन् ।

महिला ५३-५७ केजीमा चन्द्रागिरीकी सलिना धामीले आफ्नै क्लबकी रचना कुमाललाई निरास बनाउँदै स्वर्ण चुमिन् ।

एकल पुम्सेको पुरुषमा एनटिएका भिजन ताामाङ तथा महिलामा कोटेश्वरकी सन्ध्या लामाले स्वर्ण जित । छनोट भएसँगै ६ खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।

एनटिए टिम च्याम्पियन

प्रतियोगितामा एनटिए टिम च्याम्पियन बन्यो । एनटीएले ११ स्वर्ण, तीन रजत र पाँच कांस्य पदक जित्यो । नौ स्वर्ण, चार रजत र तीन कांस्य पदकका साथ कोटेश्वर दोश्रो भयो ।

तेश्रो तेस्रो भएको चन्द्रागिरीले आठ स्वर्ण, ६ रजत र आठ कांस्य पदक प्राप्त गर्यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताको प्रशिक्षकमा मोतिलाल लामा तथा निर्णायकमा सारदा धिमाल उत्कृष्ट भए । दुवैले जनही १० हजार रुपैयाँ पाए ।

विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे । प्रतियोगिताका लागि आइओएफटिसीका निर्देशक दिवाकर महर्जन अमेरिकाबाट नेपाल आएका छन् ।